मनु ब्राजाकी
भजनियाँहरूसित हारमोनियम थियो, ढोलक थियो, मजिरा र करतालहरू पनि थिए । अझ एउटा महत्वपूर्ण कुरा लाउडस्पिकर पनि थियो । लाउडस्पिकर किन थियो भने, भगवान् त बहिरा छँदै छन्, साथै गाउँलाई पनि धार्मिक जोशले थर्काउनु थियो ।
चोली के पीछे क्या है ?
भारतबाट एउटा भजनियाँ मण्डली नेपालको एउटा गाउँमा भित्रियो । यो गाउँ नेपाल–तराईको सबै गाउँजस्तै गाउँ नै थियो । अर्थात्, यहाँका किसानहरू यहीँ थन्किएका, पढेलेखेका युवाहरू शहरतिर पसेका र अशिक्षित युवाहरू पन्जाब–सन्जाब रिर्टन भएका ।
यस कीर्तनमण्डलका नेता थिए सियारामशरण दासजी । कीर्तनमण्डलका सदस्यहरू उनीलगायत छ जना थिए । पाँच जना युवा र एउटी युवती । युवाहरू त युवाहरू नै थिए तर युवती चाहिँ युवती हुनाका साथसाथै सियारामशरणजीकी प्रमुख चेली र कीर्तन कार्यक्रमकी चमेली पनि थिई । भजनियाँ सियारामशरणलाई थाहा छ, युवती धतुराको फूल भए पनि गाउँलेहरूका लागि चमेली नै ठहरिनेछे ।
उनले आउनासाथ गाविस अध्यक्षलाई समाते । अध्यक्षले वार्ड सदस्यहरूलाई समाते । वार्ड सदस्यहरूले आ–आफ्ना वार्डका जनतालाई समाते । अन्ततः सम्पूर्ण गाउँबाट मानोमुठी उठाइयो । भजनमण्डलीको खाने, पिउने, बस्ने र स्वागतको व्यवस्था मिलाइयो ।
धर्मप्राण गाउँलेहरूमा धार्मिक उन्माद उर्लियो ।
बाली भित्रिइसक्या थियो । गाउँले महर्जनहरूले रिन कर्जा उठाइसकेका थिए ।
सबैभन्दा ठूलो कुरा प्रजातन्त्र पनि आइसक्या थियो ।
भारत र नेपालको धर्म र संस्कृतिको समन्वयार्थ भजनमण्डली पनि आइसक्या थियो । यो गाउँलेहरूका लागि बडो सुखद अवसर थियो– भित्र्याइएको बालीका लागि भगवान्प्रति कृतज्ञ हुने ।
श्री सियारामशरणजीले गाविस अध्यक्षज्यूलाई भने, ‘देखिए प्रधानजी, नेपाल और भारतमे कोई फर्क नही है । हम और आप एक ही है । छोटे भाइको बडे भाइका अनुसरण करना चाहिए । प्रेम से भगवान् सियारामकी शरण में आइए । दिल खोलके चन्दा दान कीजिए । कल्याण होगा । अगले साल इस गाँव मे और फसल उबजेगा । बोलिए सियावर रामचन्द्र की जय !’
अध्यक्षलगायत सबै वार्ड सदस्यहरूले जयकार गरे ।
प्राइमरी स्कुलको प्रांगणमा कीर्तन कार्यक्रम हुने भयो । समय आठ बजेपश्चात् । त्यति बेलासम्म गाउँलेहरू साँझको भोजनबाट निवृत्त भइसक्थे ।
खाटहरू जोडेर मञ्च बनाइयो । मञ्चसामु स्रोताहरूका लागि पराल ओछ्याइयो । दाहिनेतिर पुरुष र देब्रेतिर महिलाहरू बस्ने भए । गाउँका महिलाहरू अझ भनूँ गाउँका बुहारीहरू, यस कार्यक्रममा भाग लिन बढी उत्साहित थिए । किनभने, यस्तो धार्मिक कार्यक्रममा मात्र उनीहरू आउन र आएर घुम्टो निधारसम्म उचालेर भगवत्लीन हुन पाउँथे ।
भजनियाँहरूसित हारमोनियम थियो, ढोलक थियो, मजिरा र करतालहरू पनि थिए । अझ एउटा महत्वपूर्ण कुरा लाउडस्पिकर पनि थियो । लाउडस्पिकर किन थियो भने, भगवान् त बहिरा छँदै छन्, साथै गाउँलाई पनि धार्मिक जोशले थर्काउनु थियो । नथर्काईकन कोही पनि त अनुगत, अनुप्राणित र आतंकित हुँदैनन् । आतंक यस्तो कुरा हो, जसले शक्तिशाली भगवान् र तिनका खसोखास प्रतिनिधिहरूको वर्चस्व कायम राख्दछ । यो कुरा श्री सियारामशरण दासजीलाई तुलसीदासको रामायणभन्दा पनि बढी थाहा छ ।
साँझ सात बजेदेखि नै गाउँले स्त्री–पुरुषहरू भेला हुन थाले । मञ्चमा आफ्ना मण्डलीबीच सियारामशरणजी विराजमान छन् । लाउडस्पिकरमा हिन्दी फिल्मी गानाहरू बजिरहेछन् । मीठा–मीठा हिन्दी गानाले प्रेरित भएर दाहिनेतिरका पुरुष (विशेषतः कडुवा तेलयुक्त जुल्फी पालेका) देब्रेतिरकी घुम्टो उचालेकी गाउँकी बुहारीहरूतिर रामले झैँ हेरिरहेछन् । बूढापाकाहरू यो हेराइलाई भगवान्को दया ठानेर चुपचाप खैनी मोलिरहेछन् । भगवान् भने आकाशतिर कतै आधुनिक हिन्दी फिल्मी गाना सुनेर बसेका होलान् ।
भजनियाँ प्रमुख सियारामजी स्रोता भक्तगणहरू यथेष्ट संख्यामा अझै नआइपुगेकाले चिन्तित छन् । यही चिन्ताले उनलाई प्रवचन दिने झोक चल्छ । लाउडस्पिकर बन्द गर्ने इशारा गरेर उनी प्रवचन दिन थाल्छन् । उनकी प्रमुख चेली उनीतिर एकाग्रतापूर्वक हेर्दै चमेली भएकी छे । गाउँले बुहारीहरू चमेलीलाई देखेर उत्साहित हुँदै आ–आफ्ना घुम्टा अझै माथि सार्छन् ।
दाहिनेतिर बसेको लखनले खैनी घुसारेर देख्छ, उसकी साइँली बुहारी त साला कैलू चमारको जुल्फे छोरोतिर पो सीताले रामलाई हेरेझैँ हेरिराखेकी छे । तर, बिचरा अहिले गरोस् पनि के ? उसले रिसले खैनीको तीतो रस घुटुक्क निल्यो र प्रवचन सुन्ने अभिनयतिर दत्तचित्त भयो ।
भजनियाँ सियाराम भारतको प्रजातन्त्र र नेपालको शिशु प्रजातन्त्रको धार्मिक भावले व्याख्या गर्दै थिए । तर, उनले छिट्टै बुझे, उनको प्रवचनको प्रभाव बूढाखाडालाई त केही भयो होला तर सबैमा भएको छैन । यो प्रवचनले भगवान् श्रीरामको गरिमा घटोस् कि बढोस्, धर्म फलोस् कि फुलोस् कि भर्सेला परोस् तर उनको दानापानीमा त प्रभाव पर्छ–पर्छ । अतः उनले धतुराको फूलजस्ती चमेलीलाई गाउँबाट बढीभन्दा बढी भक्तगण बटुल्न हिन्दी फिल्मी गानाहरूको लय र धुनमा कीर्तन गर्ने आज्ञा गरे ।
तुरुन्त हारमोनियम, ढोलक, मजिरा र करताल बज्न थाले । चमेलीले ‘मै दुनियाँ से अब न डरुँ, तुम्ही से मै प्यार करुँ’ भन्ने गानाको लयमा एउटा भजन सुनाई । चार–पाँच ओटा यस्तै हिन्दी फिल्मी धुनमा भजन सुनाएपछि दाहिने र देब्रे दुवै पक्ष भावविभोर भएर सियारामको अवस्थामा पुगे ।
आउन त गाउँलेहरू आउँदै छन्, तर फाट्टफुट्ट ।
भजनियाँ प्रधानले आठ बजिसकेको हुँदा पुनः फिल्मी धुनको भजन बन्द गराए । लाउडस्पिकरमा रिकर्डिङ गर्ने आदेश दिए ।
यसैबेला शिवलाल कुर्मीले देख्यो, अँ खैनी मुखमा हालेपछि देख्यो, देब्रेतिर बसेकी उसकी जेठी बुहारी आफ्नो ठाउँमा छैन ।
रखन झाले देख्यो, उसकी कान्छी बुहारी पनि देब्रेपट्टि आफ्नो ठाउँमा छैन ।
अँ, प्राइमरी स्कुलको आडैमा बाँसघारी छ र बाँसघारीको आडैमा आँपको ठूलो बगैँचा छ ।
एक्कासि मञ्चबाट श्री सीयारामशरण दासजी चिच्याए, ‘सियाराम रामचन्द्रकी जय !’
‘जय ! ! !’
अनि धतुरोजस्ती चमेलीले लाउडस्पिकर बजाई–
‘चोली के पीछे क्या है, चोली के पीछे ? चुनरी के नीचे क्या है, चुनरी के नीचे ?’
अब कीर्तन सुरु भयो ।
००० ००० ०००
साहित्यकारले नेतातिर नहेरी मुन्टो निहुर्याएर मनोयोगपूर्वक बुझ्यो, ‘महँगी, घुसखोरी र कमिसनतन्त्रजस्ता आर्थिक भ्रष्टाचारलाई संस्थागत गराउने यै मनुवा हो !’
भ्रष्ट भगवान्
सामन्त शिरोमणि सिंहासनबाट गए ।
तर्साउनका लागि इतिहास भूत भयो ।
बल्ल अब सामन्ती प्रजातन्त्र आयो ।
गनवादी गनतन्त्र पनि आयो ।
विभेदकारी धार्मिक जातीय संघीयता पनि आयो ।
जंगल शहरमा आयो, शहर जंगली भयो ।
राजनीतिले यसै जंगलमा मंगल सुरु गर्यो।
नयाँ नेपालको जग हो कि चिहान खनिन थाल्यो ।
अर्थात्,
–उसलाई भनेको ईश्वरप्रसाद आचार्योपाध्यायलाई लाग्यो, अब उसले नेता हुनुपर्छ । किनभने जे पढियो, राजनीति पढियो । जे भइयो, खुट्टा ढोगाउने भइयो ।
–उसको साथी भनेको बलबहादुर ‘निर्बल’ चाहिँ जनताका दुःखसुख लेखेर र भट्याएर उहिले नै कविजी माने साहित्यकार भइसक्या थियो ।
नयाँ नेपालमा यी दुई नेपाली र नेपालको कथा बल्ल अब सुरु भयो ।
यस इलाकामा एउटा बलशाली र उच्चतम पहुँच भएको नेता छ ।
यसै इलाकामा एउटा लोकप्रिय र नितान्त निर्बल साहित्यकार पनि छ ।
दुवै सहपाठी थिए ।
अतः त्यो शक्तिशाली नेता बेलाबखत आफ्नो सहपाठी साहित्यकारकहाँ पुग्थ्यो र सदैव एउटै प्रश्न गथ्र्याे ।
‘भन, अब म को हुँ ?’
साहित्यकार नेताको गर्वोक्तिमय प्रश्न सुन्थ्यो र सदैव त्यस प्रश्नको उत्तर दिन आलटाल गथ्र्यो । यताउतिका मीठामसिना कुरा गरेर नेतालाई फर्काइदिन्थ्यो ।
एक दिन त्यो उच्चतम पहुँच भएको शक्तिशाली नेता साहित्यकारसित आफ्नो प्रश्नको जवाफ पाउन कम्मर कसेरै आयो । उसलाई लाग्यो, साहित्यकारले उसको प्रश्नको मर्म र महत्व बुझेन । अतः साहित्यकारकहाँ पुग्नासाथ उसले आफ्नो पुरानो प्रश्न अलि कड्केर सोध्यो ।
‘भन, म को हुँ ?’
साहित्यकारलाई चुप लागेको देखेर नेतालाई लाग्यो, यसले प्रश्न राम्ररी बुझेन । त्यसो हुनाले उसले आफ्नै प्रश्नको व्याख्या गर्न थाल्यो ।
‘हेर, म यहाँको राजनीतिक नेता हुँ, बुझ्यौ ?’
साहित्यकारले नेतातिर हेर्यो र मनमनै बुझ्यो, ‘समाजमा भाँजो हाल्ने र झैझगडा मच्चाएर भोट र नोट बटुल्ने यै मनुवा हो !’
‘हेर, म यहाँको धार्मिक नेता हुँ, बुझ्योै ?’
साहित्यकारले ऊतिर नहेरी मनमनै बुझ्यो, ‘समाजमा विभिन्न धर्मका कर्मकाण्डीय विभेदलाई चर्काएर घृणा र शत्रुभाव उत्पन्न गर्ने मनुवा हो !’
‘हेर, म आधा आकाश ढाक्ने नारीहरूको मुक्तिसंघर्षको संरक्षक हुँ, बुझ्यौ ?’
साहित्यकारले अझै पनि जवाफ नदिई मनमनै बुझ्यो, ‘चेलीबेटी बेचबिखनको उच्चस्तरीय संरक्षक यै मनुवा हो !’
‘हेर, म यहाँको आर्थिक क्षेत्रको पनि नेता हुँ, बुझ्यौ ?’
साहित्यकारले नेतातिर नहेरी मुन्टो निहुर्याएर मनोयोगपूर्वक बुझ्यो, ‘महँगी, घुसखोरी र कमिसनतन्त्रजस्ता आर्थिक भ्रष्टाचारलाई संस्थागत गराउने यै मनुवा हो !’
(साहित्यकारझैँ मनमनै यस्तै खालका कुरा बुझ्न अचेलका केही नेता पनि साहित्यकार भएका छन् । हे दुई नाउ ! कृपया पारि पु¥याऊ !)
आफ्नो प्रश्नको जवाफ पाउन अधीर नेतालाई लाग्यो, अब यसले मेरो प्रश्नको मर्म र महत्व बुझ्यो होला । अतः आफ्नो पूर्वप्रश्नलाई व्यंग्यपूर्वक कड्केर सोध्यो, ‘मुन्टो निहु¥याएर किन चुप भई बसेको ? लु अब भन, म को हुँ ?’
उसका प्रश्नले आजित भएको साहित्यकारले मुन्टो ठड्याएर भन्यो, ‘तिमी मान्छे होइनौ !’
राता आँखा लगाएर नेता अझै कड्कियो चर्को स्वरमा, ‘के रे ? फेरि भन त ।’
साहित्यकारले विनम्रतापूर्वक भन्यो, ‘मैले ठीक भनेको हुँ । तिमी मान्छे होइनौ, तिमी त भगवान् हौ, भगवान् !’
उच्चतम पहुँच भएको शक्तिशाली नेता, ईश्वरप्रसाद आचार्योपाध्याय, साहित्यकार बलबहादुर ‘निर्बल’को जवाफ सुनेर फुरुंग पर्दै दंगदास भएर गयो । किनभने, उसलाई एउटा वर्गविशेषको वर्णविशेषले आफ्नो सामन्ती स्वार्थपूर्तिका लागि कुटिल कल्पनाद्वारा जन्माएको भ्रष्ट भगवान्को लौकिक कर्मकाण्डीय तुच्छताका विषयमा केही थाहा थिएन ।
अध्ययनशील साहित्यकार नेता मित्रको अज्ञानले अझै ‘निर्बल’ भयो । सार्वभौम अज्ञानले भगवान् र भगवान् नेता भयो ।