केही बलिउड सेलिब्रिटीलाई बर्सातको मौसम असाध्यै मन पर्छ। बर्खामा झमझम पानी परिरहँदा उनीहरू तात्तातो चियासँग समोसा, पकौडा खान रुचाउँछन्। उनीहरूको मनसुन अनुभूतिः
सोनु सुद
म बर्खा यामको पर्खाइमा हुन्छु। यति बेलाको मौसम बेग्लै हुन्छ। गर्मीबाट हैरान भएका मानिसले राहत पाउँछन्। मुम्बईमा मात्र नभई देशैभरिका मानिस खुशी हुन्छन्। सानो छँदा पानी परेपछि खूब चिया–पकौडा खान्थेँ। अहिले पनि पानी पर्यो कि पकौडा खान मन लागिहाल्छ। अनि, बर्सातको मौसममा ‘रिमझिम भरे सावन’ गीत सुन्न मन पराउँछु।
मल्लिका शेरावत
बर्सात मेरो मन पर्ने मौसम हो। पानी परेको बेला खूब मज्जा लाग्छ। पानी पर्दा माटोको मीठो बास्नाले आनन्दित हुन्छु। झमझम पानी परिरहेको बेला कतै जान मन लाग्छ। बर्खा याममा समोसा–पकौडा भनेपछि भुतुक्कै हुन्छु।
तुषार कपुर
पहिला मलाई बर्खा त्यति मन पर्दैनथ्यो। तर, छोरा जन्मिएपछि बर्सातको पानीमा भिज्न मन पर्न थालेको छ। पानी पर्दा छोरालाई पार्कमा लग्छु। ऊसँग दुई–तीन घण्टा त्यहीँ खेल्छु। पानीमा मसँग खेल्न पाउँदा छोरा असाध्यै खुशी हुन्छ। म सानो हुँदा पानीले गर्दा स्कुल बन्द हुन्थे। स्कुल पुगेपछि ‘आज स्कुल बन्द छ’ भनेपछि मज्जा लाग्थ्यो। पानीमा रमाउँदै घर फर्किन्थेँ।
इशा गुप्ता
सानैदेखि बर्खा मन पथ्र्यो। पानीमा खूब भिज्थेँ। पानी पर्दा स्विमिङ गर्थें। ठूलो भएपछि त्यसरी भिज्ने मौका पाएको छैन। सानोमा भिजेको, समोसा, जेरी खाएको सम्झिन्छु।
विद्या बालन
बर्सातको चिसो हावा र पानीले एकदमै आनन्द दिन्छन्। सानैदेखि मलाई बर्खा याम मन पथ्र्यो। यस मौसममा आउटडोर सुटिङ गर्न गाह्रो हुन्छ। तातो चिया र पकौडाले बर्सातको मौसमलाई अझै रमाइलो बनाउँछन्।
आयुष्मान खुराना
मनसुन एकदमै मन पर्छ। यो मौसम खूब इन्जोय गर्छु। यति बेला परिवार र साथीभाइसँग समय बिताउन मन पराउँछु। पानी जीवन हो। वर्षा त्यसको माध्यम हो। जसलाई म ‘मिस’ गर्न चाहन्नँ।
कट्रिना कैफ
पानीका छिटा असाध्यै मन पर्छन्। पानी पर्दा माटोबाट निस्कने बास्ना पनि मलाई मन पर्छ। मुम्बईको बर्सातमा खूब रमाइलो गर्छु। बर्खा यामले आनन्दित तुल्याउँछ।