पूजा पार्खिन जीवनको दोस्रो इनिङमा छिन् । रामेछाप पुर्खौली थलो भएकी पार्खिन लतिपुरको हात्तिवनमा हुर्किएकी हुन् । प्लस टू सम्मको शिक्षा ललितपुरमै पूरा गरेकी उनी सानैदेखि बोल्न, गाउन, नाच्न, एंकरिङ गर्न र कुनै कामको नेतृत्व लिन अग्रसर हुन्थिन् । प्लस टूसम्म अध्यायन गर्दा उनले आफूलाई मन लागेका यी कार्य पनि गरिन् । तर, उनी जुन क्षेत्रमा आफूलाई अब्बल सावित गर्न चाहन्थिन त्यो क्षेत्रमा लाग्न उनलाई समयले साथ दिएन । उनी मोडलिङ र अभिनयको क्षेत्रमा करिअर बनाउन चाहन्थिन । तर, उनले सोचेजस्तो भएन । उनको विवाह भयो । उनी श्रीमानसँग कामको शिलशिला लामो समय देश बाहिर बस्नु पर्यो ।

हाउस अफ फेसनले आयोजना गरेको मिसेस भोग, २०२४ को विजेता बनेपछि भने पूजा लामो निद्राबाट ब्युझिँएझै भएकी छिन् । ‘मेरो इच्छा थियो मोडललिङ र अभिनयको क्षेत्रमा क्रियाशील हौँ, यसैमा करिअर बनाऊँ’ पूजा भन्छिन्, ‘तर समय नआई केही नहुने रहेछ । लामो प्रतीक्षा पछि मैले मनैदेखि गर्न चाहेको क्षेत्रमा पाइला राख्न पाएको छु ।’

आठ वर्ष विदेशमा रहँदा उनले पहिलो सन्तान छोरीलाई जन्म दिइन् । नेपाल फर्किएपछि अर्की छोरी जन्मिइन । दुईटी छोरी हुर्काउँदै गरेकी पूजा श्रीमान्को विजनेसमा पनि सहभागी छिन् । स्लेट ढुंगाको खानी सञ्चालक र फ्लागस्टोन सप्लायर्स हुन पूजा । ‘बुहारी भएपछि घर पनि हेर्नै प¥यो, पूजा भन्छिन्, श्रीमान्, दुईटी छोरीको प्यारेन्टिङ र विजनेसमा टाइम दिँदा मैले आफ्नो लागि टाइम म्यानेज गर्न सकिरहेकी थिइन् । मिसेस भोग, २०२४ मा भाग लिएर विजेता बनेपछि भने उनलाई आफ्नो लागि पनि केही गर्न पाएकोमा सन्तुष्टि मिलेको छ ।

‘म लामो समय मानसिक समस्याबाट गुज्रिएँ । डिप्रेसनको थर्ड स्टेजमा थिएँ । मलाई मेरी आमाले असाध्य सर्पोट गर्नुभयो, पूजा भन्छिन्, ‘मिसेस भोग प्रतियोगितामा सहभागी हुनका लागि आमाले प्रेरित गर्नुभएको हो ।’ अडिसन दिन जाँदा पूजा निकै नर्भस भएकी थिइन् । निन्द्रा लाग्ने औषधि नखाई सुत्नै नसक्ने उनी अहिले सामान्य अवस्थामा फर्किएकी छिन् । लामो समय चिकित्सकको परामर्शमा रहेकी उनको समस्या एकाएक निको भएकामा चितिकत्सक पनि दंग छन् ।

‘मिसेस भोग प्रतियोगिता मेरा लागि वरदान भएर आयो, पूजा भन्छिन्, ‘यसले मेरो जीवनको दोस्रो इनिङ सुरु गराएको छ ।’ प्रतियोगिताका क्रममा भएका ग्रुमिङ क्लास, सबैले आ–आफ्नो स्टोरी शेयर गर्नुपर्ने, मोटिभेसनल स्पिकरका कुरा आदि सुन्दा र आफूलाई बच्चादेखि नै मन लागेको क्षेत्रमा पाइला राख्न पाउँदा पूजाले भोगिरहेकी समस्याबाट एकाएक अहिले छुटकार पाएकी छिन् ।

जिन्दगीबाट दिक्का मानिरहेकी पूजा अहिले जीवनका विभिन्न रङहरूसित घुलमिल हुँदै आफूलाई अगाडि बढाइरहेकी छिन् । मिसेस भोगको विजेता बनेपछि उनले थाइल्याण्डको बैंककामा आयोजित ‘मिसेस टुरिजम क्वीन इन्टरनेशनल–२०२४’ मा प्रतिस्पर्धा गरिन् । हाउस अफ फेसनले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै पूजालाई बैंकक पठाएको थियो । प्रतियोगिताको क्रममा विश्वका करिब दुई दर्जन देशहरूबाट आएका प्रतिस्पर्धिहरूलाई विभिन्न गतिविधि तथा प्रशिक्षणमा सहभागी गराइएको पूजाले बताइन् । फोटो सेसन, यात्रा, अभ्यास, सोसलाइजेसन, सोसल सर्भिस, इम्पावरमेन्ट, पर्सनल डेभ्लेपमेन्टसहितका विधामा प्रशिक्षण दिइएको थियो । नेपाल पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित गएकी पूजाले त्यो अवसर भने पाइनन् । प्रतियोगिताको टाइटल अनुसार गतिविधि काम भएपनि पूजाले भने उत्कृष्ट प्रस्तुति गरेकी थिइन् ।

मिसेस भोग पूजा अहिले हाउस अफ फेसनले नै आयोजना गरिरहेको प्रतियोगिता इएन भोग एक्सको व्यवस्थापनमा काम गरिरहेकी छिन् । हाउस अफ फेसनकी संस्थापक ओसिमा बानुले उनलाई इभेन्ट व्यवस्थापनमा सक्रिय गराएकी छिन् । केही महिना अघिसम्म मानिसहरूका अगाडि उभिएर बोल्न डराउने पूजा अहिले प्रतियोगिताका सहभागीहरूलाई प्रशिक्षण दिन सक्ने भएकी छिन् । पूजाले मिसेस टुरिजम क्वीन इन्टरनेशनल नेपालमा आयोजना गर्ने बारेमा सोच बनाएको बताइन् । ‘टुरिजमलाई अगाडि बढाउन यस्ता प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने भएकाले नेपालमा आयोजना गर्ने सोच बनाएको छु, पूजा भन्छिन् ।
