‘मिस कोस्मो’ मा भाग लिँदै दीपशिखा

राम्रो अनलाइन     ०२ मंसिर २०८२, मङ्गलबार
‘मिस कोस्मो’ मा भाग लिँदै दीपशिखा

काठमाडौं–नेपाली ब्युटी पेजेन्टको लागि नयाँ खबर– नेपालले पहिलोपटक सौन्दर्य प्रतियोगिता ‘मिस कोस्मो २०२५’ मा सहभागिता जनाउँदैछ ।

प्रतियोगितामा भाग लिन मिस नेपाल कोस्मो दीपशिखा नेपाल आउने साता भियतनामको होची मिन्ह सिटीतर्फ प्रस्थान गर्दैछन् । उनका यसका लागि पूर्ण तयार रहेको जानकारी द हिडन ट्रेजरले सोमबार एक फोटोसुटमार्फत दिएको छ ।

प्रतियोगिताको यसवर्षको आधिकारिक थिम ‘राइजिङ ड्रयागन’ झल्काउने आकर्षक फोटो सार्वजनिक गरिएको छ ।

‘नेपालको उदीयमान ड्रयागन उड्न तयार छ’ विज्ञप्तिमा भनिएको छ, ‘भियतनामतर्फ उड्ने तयारीमा रहेकी अत्यन्तै प्रतिभाशाली दीपशिखा नेपाललाई शुभकामना । हाम्रा पहाडहरूको भावना र राष्ट्रको सपना बोकेर जानुहोस् । इतिहास रच्नुहोस् ।’

२८ नोभेम्बरदेखि २० डिसेम्बरसम्म यसवर्षको मिस कोस्मो आयोजना हुनेछ । प्रतियोगिता अवधिभर त्यहाँको ह्यु लाम दोङ, ते नी र हो ची मिन्ह सिटी सहरमा कार्यक्रमहरू हुनेछन् ।

सन् २०२५ संस्करणको विषयवस्तु “राइजिङ ड्रयागन’ हो, जुन शक्ति, आत्मविश्वास र प्रभावको प्रतीक हो । यस वर्षको ग्रान्ड फिनाले केवल एउटा प्रतियोगिता मात्र होइन, यो सौन्दर्य र संगीत महोत्सवसँग जोडिएको छ ।

महोत्सवमा २० हजारसम्म प्रत्यक्ष दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ । ८० मुलुकका सुन्दरीले प्रतियोगितामा सहभागिता जनाउँदैछन् । विजेताले १ लाख अमेरिकी डलर र उपविजेताले १० हजार अमेरिकी डलर नगदसहितका पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रतिक्रिया