काठमाडौँ– निर्देशक कृषा चौलागाईंले महिला निर्देशक सबै विधाका फिल्म निर्देशन गर्न सबल रहेको बताएकी छिन्। कमलपोखरीस्थित एक चलचित्र भवनमा मङ्गलबार गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक चौलागाईंले महिला निर्देशक हुँदैमा विधागत रुपमा कमजोर ठान्नेलाई आफ्नो कामले जवाफ दिएको बताइन्।
उनले भनिन्, “यति धेरै कलाकार र प्राविधिकलाई लिएर एउटी महिला निर्देशकले कसरी काम गर्न सक्छिन् ? भन्ने प्रश्न धेरैको थियो । त्यसैले मलाई काममा झनै लगनशील रहन र मेहनत गर्न प्रेरित गर्यो । यो श्रव्यदृश्य त केही होइन, चलचित्र निकै भव्य बनेको छ । यो सम्भव हुनुमा सम्पूर्ण कलाकारले म प्रति गर्नुभएको विश्वास र निर्माण समूहको सहयोग मुख्य कारण रहेको छ । मैले चलचित्रलाई भव्य बनाउन कुनै सम्झौता गरेकी छैन ।” निर्देशक चौलागाईंले चलचित्रमा सामाजिक विषय उठान गरिएको भए पनि प्रस्तुतीकरण द्वन्द्व प्रधान भएको बताइन्।
यही चलचित्रमार्फत द्वन्द्व प्रधान विधामा प्रस्तुत भएका अभिनेता प्रदीप खड्काले आफूले निर्माण समूहको लगनशीलता देखेर विषयवस्तु नसुन्दै अभिनयका लागि सहमति दिएको बताए।
उनले भने, “निर्माण गर्ने शैली, त्यसप्रतिको लगावले मलाई राम्रो काम गर्नुहुन्छ भन्नेमा विश्वत बनायो । त्यसका साथै मैले निर्वाह गरेको भन्दा यो फरक भूमिका थियो । आफूलाई नयाँ रुपमा दर्शकसम्म लान पाएपछि अभिनेताले कसरी नाई भन्न सक्छ र ? यो चलचित्र बनिरहेको भन्दा फरक र भिन्न छ ।”
यसमा अभिनेता खड्कासँगै दिव्य देव, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झा, प्रमोद अग्रहरीलगायतका कलाकारले अभिनय गरेका छन्।
दक्षिण भारतीय चलचित्रमा पाश्र्वसङ्गीतकारको रुपमा काम गरिसकेका काला चरणले नेपाली चलचित्रको स्तर बढिरहेको बताए। उनले भने, “मैले विभिन्न भाषाको चलचित्रमा काम गरेको छु । महिलाले हरेक विधामा अब्बल रुपमा काम गरिरहेको पाएको छु । यो चलचित्रमा देखिएको भव्यता भारतीयभन्दा कम छैन । म यसमा जोडिन पाउँदा खुसी छु ।”
प्रदीप भारद्वाज र अभिमन्यु निरवीले संयुक्त रुपमा पटकथा र संवाद लेख्नु भएको चलचित्र ‘पिताम्बर’ मा पुरुषोत्तम प्रधानले छायाङ्कन निर्देशन, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायाङ्कन, बन्दे प्रसादले सम्पादन, आशीष अविरल र बाबुल गिरीले सङ्गीत सिर्जना र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।