काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल झलनाथ खनाल समूह नयाँ पार्टी गठनको तयारीमा लागेको छ । अध्यक्ष केपी शर्मा ओलीले नेपालसहितका चार नेतालाई पार्टी सदस्यबाट निलम्बन गरेपछि पहलिा समानान्तर समिति बनाउने र त्यसपछि नयाँ पार्टी गठन गर्नेतयारीमा लागेका हुन् । त्यसको रणनीति बनाउन आज स्थायी समिति सदस्यहरूको बैठक बोलाएको छ ।
स्थायी समिति बैठकबाट अब कसरी अगाडि बढ्ने भन्ने तय हुने एक नेताले बताए । देशब्यापी पार्टी पुनर्गठनको अभियान चलिरहेको र आज स्थायी कमिटीको बैठकले थप घोषणा गर्ने नेता युवराज ज्ञवालीले बताए ।
एमालेले साबिकका पदाधिकारी र स्थायी कमिटी भंग गरी महाधिवेशन आयोजक समिति बनाइसकेको छ । तर माधव नेपाल पक्षले त्यसलाई मानेको छैन । नेपाल पक्षमा तत्कालीन एमाले स्थायी कमिटीका ११ जना सदस्य छन् ।
झलनाथ खनाल, माधव नेपाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपानेसहितको बैठक बस्न लागेको हो । बैठकमा अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि सहभागी हुनेछन् ।
स्रोतका अनुसार अब एमालेमा ओलीसँगै रहन नसकिने निष्कर्षमा धेरै नेता पुगेका छन् । माधव नेपालले भने अब शुरुमा एमाले पुनर्गठन अभियानका नाममा तलदेखि माथिसम्म कमिटीहरुमा कार्यकर्ता संगठित गरेर एक महिनापछि अलग पार्टी दर्ता गर्ने तयारी छ । त्यसपछि प्रचण्ड, मोहन वैद्यलगायतका समूहसँग एकताको पहल गरिने नेपालm् बताइसकेका छन् ।
नेपाल समूहले बिहीबारमात्र नेता नेपालकै उपस्थितिमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ । भोजपुर, अर्घाखाँची, गोरखामा कमिटी त्यसअघि नै गठन भइसकेको छ भने शनिबार उदयपुरमा घोषणा गर्ने तयारी छ ।