काठमाडौं – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्र चल्ने साझा बस सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउने प्रस्ताव अघि सारेका छन् ।
साझा यातायातद्वारा सञ्चालित नयाँ रुटको शुभारम्भ कार्यक्रममा बोल्दै मेयर महर्जनले सार्वजनिक यातायातलाई सेवामुखी र दिगो बनाउन यस्तो योजना सुनाएका हुन् । मेयर महर्जनले साझा यातायातलाई नेपालकै सबैभन्दा सफल र अनुभवी सार्वजनिक यातायात संस्था भएको बताए ।
उनले कुनै पनि योजना सुरु गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण हुने उल्लेख गरे । हाल दुईवटा रुटमा सुरु गरिएको सेवाको खर्च सुरुआती तीन महिना साझा यातायातले नै व्यहोर्ने सहमति भएको छ । त्यसपछि भने सम्बन्धित पालिकाहरूले प्रो–र्याटा (दामासाही) आधारमा खर्च व्यहोर्ने प्रावधान छ । तर, मेयर महर्जनले भने तीन महिनापछि सर्वसाधारणबाट शुल्क लिनुको सट्टा महानगरले नै खर्च व्यहोरेर निःशुल्क बनाउनुपर्ने धारणा राखे ।
‘साझा यातायात भनेको नेपालमा सार्वजनिक बस सञ्चालनमा सबैभन्दा माहिर र सफल संस्था हो । यसमा काठमाडौं र ललितपुर जस्ता महानगरहरू जोडिएकाले यसको सफलता सुनिश्चित छ । औँसीमा सुरु गरेर पूर्णिमामा विलाउने काम हुनुहुँदैन, यसले हाम्रो इज्जत जान्छ । यो सेवा कुनै पनि हालतमा रोकिनु हुँदैन, ’उनले भने ।
उनले साझा यातायातलाई तत्काल खर्चको अनुमानित विवरण उपलब्ध गराउन आग्रह गर्दै आगामी आर्थिक वर्षको बजेट (रातो पुस्तिका)मा ललितपुर महानगरको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
‘विश्वका धेरै मेट्रो सिटी र राजधानीहरूमा सार्वजनिक यातायात निःशुल्क गरिएको छ । हामीले पनि राजधानी क्षेत्रमा यस्तो अभ्यास गर्नुपर्छ । तपाईंहरूले हामीलाई भन्नुस्,हामी बजेट मेकिङ सेसनमा छौँ । ललितपुर महानगरले कति कन्ट्रीब्युसन गर्नुपर्ने हो, त्यो हामी रातो पुस्तिकामा समावेश गर्छौँ, ’उनले भने ।
काठमाडौंमा मंगलबार साँझदेखि वाइफाई सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको हो । यो सेवाले काठमाडौं महानगरपालिका,ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्नेछ ।