ललितपुर– ललितपुरको गोदावरीस्थित तपेश्वर सामुदायिक वनमा डढेलो निभाउने क्रममा घाइते भएका तीनमध्ये एकजनाको मृत्यु भएको छ। डढेलोमा जलेर स्थानीय शंकर पहारीको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार आगलागी निभाउने क्रममा दुई जना घाइते भएका थिए।
घाइतेमध्ये एकको उपचारको क्रममा मृत्यु भएको हो। घाइते हुनेमा शङ्कर पहरी र रमेश पहरी थिए। यसैगरी लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ। डढेलोका कारण आनन्दवनमा रहेको कुष्ठरोग अस्पताल पनि जोखिममा परेपछि त्यहाँ रहेका ९३ जना बिरामीलाई पनि अन्यत्र सारिएको छ।
अस्पतालमा उपचाररत करिब ९० बिरामीलाई बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा केन्द्र र अरू स्वास्थ्य चौकीहरूमा सारिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए।