कंगनाका असफल अफेयर

एजेन्सी     ३० जेठ २०७८, आइतबार
कंगनाका असफल अफेयर

कंगना रनोटलाई बलिउडमा ‘कन्ट्रोभर्सी क्विन’ भनिन्छ। आफ्ना ‘बोल्ड’ अभिव्यक्तिका कारण उनी प्रायः विवादमा परिरहन्छिन्। उनले फिल्म ‘ग्याङस्टर’ बाट बलिउडमा डेब्यू गरेकी हुन्। पहिलो फिल्ममै दमदार अभिनयका लागि ‘बेस्ट फिमेल डेब्यू’ अवार्डसमेत हात पारिन्। एकातिर उनी करिअरमा सफलता पाउँदै गइन्, अर्कातिर अफेयरका कारण विवादमा फस्दै गइन्।

बलिउडमा संघर्ष गर्दाताका उनको भेट अभिनेता आदित्य पंचोलीसँग भयो। आदित्य विवाहित थिए र कंगनाभन्दा २० वर्ष जेठा थिए। तैपनि, उनीहरू प्रेममा परे। लामो समयसम्म उनीहरू लिभ–इन रिलेसनसिपमा रहे। पछि आदित्यले आफूमाथि कुटपिट गरेको भन्दै कंगना टाढिएकी थिइन्। र, प्रहरी थानामा आदित्यविरुद्ध उजुरीसमेत दिएकी थिइन्। पंचोलीसँग ब्रेकअप भएपछि कंगनाको भेट फिल्मकर्मी शेखर सुमनका छोरा अध्ययन सुमनसँग भयो। फिल्म ‘राज २’ मा यी दुईले सँगै काम गरेका थिए। त्यहीँबाट उनीहरू प्रेममा परेका थिए। शेखरलाई उनीहरूको सम्बन्ध स्वीकार्य थिएन। कंगना र अध्ययनको सम्बन्ध लामो समयसम्म टिकेन। त्यसपछि उनको नाम अभिनेता अजय देवगनसँग जोडियो। फिल्म ‘वान्स अपन ए टाइम इन मुम्बई’ मा उनीहरूले सँगै काम गरेका थिए। त्यसैताका उनीहरूको अफेयरको चर्चा चल्न थाल्यो। कंगना अजयसँग आफ्नो सम्बन्धबारे गम्भीर भएको समाचारसमेत छापिएका थिए। तर, यो सम्बन्ध पनि ट्र्याजिडीमा टुंगियो। अजयपछि कंगना ब्रिटिस चिकित्सक निकोलस लाफर्टीसँग प्रेममा परिन्। निकोलस धेरै पटक भारत आए। मुम्बईका पब, रेस्टुरेन्टमा कंगना र उनी धेरै पटक सँगै देखिए। तर, यो सम्बन्ध पनि लामो सयम टिक्न सकेन। 

कंगनाको सबैभन्दा बढी विवादास्पद प्रेम सम्बन्ध ऋतिक रोशनसँग रह्यो। श्रीमती सुजन खानसँग सम्बन्ध विच्छेद गरेलगत्तै ऋतिकको कंगनासँग नाम जोडिन थाल्यो। आफू ऋतिकसँग प्रेम सम्बन्धमा रहेको कुरा कंगनाले सार्वजनिक रूपमा स्वीकार गरेकी थिइन्। धेरैले ऋतिक र सुजन अलग हुनुको कारण कंगनालाई बताए। ऋतिकले आफूसँग बिहे गर्ने वाचा गरे पनि पछि बिहे गर्न अस्वीकार गरेको कंगनाले बताएकी थिइन्। यही कुराले गर्दा दुईबीच झगडा पनि भएको थियो। झगडा अड्डा–अदालतसम्म पुगेको थियो। 

प्रतिक्रिया