संसारभर विवाह कम अनिवार्य बन्दै गएको छ। यद्यपि, यसले आफ्नो आकर्षण गुमाएको छैन। संस्थाका रूपमा विवाह कमजोर भए पनि अन्य कारणले यसको महत्त्व झन् बढेको छ। सम्बन्ध–विच्छेदलाई सामान्य मानिने समाजमा पनि अझै विवाहलाई खास बन्धन मानिन्छ।
विवाह के हो ? जीवनमा यसको प्रभाव कस्तो हुन्छ ? यो कुनै समाजशास्त्री वा मानवशास्त्रीले भन्दा उपन्यासकारले राम्ररी चित्रण गर्न सक्ने विषय हो।
‘अविवाहित जीवन भनेको मोपेड (प्याडल र इन्जिन दुवै भएको मोटरसाइकल) चढेजस्तै हो,’ अमेरिकी लेखिका जेन स्माइलीको कथा ‘दी एज अफ ग्रिफ’ को एक पात्र भन्छ, ‘जसमा यात्रा गर्दा सडकमा भएका हरेक खाल्डाखुल्डीको असर तपाईं महसुस गर्न सक्नुहुन्छ। र, विवाह खास गरी बालबच्चा जन्मिसकेपछि अनियन्त्रित गतिमा दौडिरहेको १८ चक्के ट्रकजस्तै हो।’
आम रूपमा विवाह संस्थाले महिला र पुरुषबीच जीवनभरिको खास बन्धनको परिकल्पना गर्छ। त्यसैले हामी विवाह गर्ने व्यक्तिलाई जीवनसाथी भन्छौँ। विशेष बन्धन यसर्थमा कि, विवाहबाहेक अस्तित्वमा रहेका अरू कुनै पनि सम्बन्ध तोड्न सम्बन्ध–विच्छेद गर्नुपर्दैन।
तर, विवाहको ढाँचा र प्रवृत्तिमा गएको आधा शताब्दीमा संसारभर ठूलो परिवर्तन आएको छ। अब विवाह महिला र पुरुषको बीचमा मात्रै हुँदैन। विवाह र परिवार शब्दले जनाउने अर्थ पनि फरक हुन थालेको छ। केही दशकअघिसम्म अमेरिकामा परिवार भनेको एउटा छानामुनि बस्ने आमा, बुबा र तिनका केटाकेटी भन्ने बुझिन्थ्यो। तर, यो धारणा पनि विलीन हुँदै गएको छ। हरेक राज्यमा अविवाहित जोडी, बालबच्चाविहीन घरबार र एक्लो व्यक्ति मात्र बस्ने घरको संख्या बढिरहेको छ। सन् १९५० को दशकमा अमेरिकामा बालबच्चा भएका विवाहित जोडी बस्ने परिवारको संख्या ४३ प्रतिशत थियो, २०१० मा यो २० प्रतिशतमा घटेको छ। परम्परागत विवाह कुनै समय संसारभर अनिवार्य मानिन्थ्यो, जुन अब सम्पन्न र शिक्षितका लागि विलासको माध्यम बन्न थालेको छ।
यद्यपि, विवाहप्रतिको मानिसको मोह रत्तिभर घटेको छैन। बेलायती राजकुमार विलियम र केट मिडलटनको विवाह सवा करोड अमेरिकीले टेलिभिजनमा हेरे। सेलिब्रिटी, राजनीतिकर्मीको विवाह सधैँ चर्चामा रहने गरेको छ।
पश्चिममा बीसौँ शताब्दीको मध्यमा विवाहलाई अनिवार्य मानिन्थ्यो। पुरुष र महिलाबीच विवाह हुनुपर्छ र पुरुषले कमाएर परिवार पाल्नुपर्छ भन्ने सोच सर्वत्र हावी थियो। विवाह अवश्यम्भावी बनेपछि मानिस कम उमेरमै लगनगाँठो कस्न थाले। सन् १९५० र ६० को दशकमा अमेरिकी बेहुलीहरूले यति कलिलै उमेरमा विवाह गर्थे कि तिनले आफ्नो विवाहमा रक्सीसमेत पिउँदैनथे। युरोप त झनै विवाहका लागि पागल थियो। सन् १९७२ मा ३० देखि ३४ वर्षबीचका ८७ प्रतिशत फ्रान्सेली महिला विवाहित थिए।
आजभोलि ३० देखि ४० वर्षका बीचमा हिँडिरहेका फ्रान्सेली महिलामध्ये ४३ प्रतिशत मात्रै विवाहित छन्। यो ठूलो परिवर्तन हो। अर्जेन्टिनामा विवाह यति दुर्लभ हुन थाल्यो कि कतिपय विवाह गराउने स्थानमा नक्कली बिहेभोज आयोजना हुन थालेको छ। अझ कतिपय मुलुकमा विवाह र सन्तानको जन्मबीचको सम्बन्ध पनि टुटेको छ।
सन् २०१५ मा अमेरिकामा जन्मेका सम्पूर्ण शिशुमध्ये ४० प्रतिशत अविवाहित आमाबाट जन्मेका थिए। फ्रान्समा यो दर ५९ प्रतिशत छ भने कोलम्बियामा ८४ प्रतिशत। बच्चा जन्माउन चाहनेले विवाह गर्नुपर्छ भन्ने भनाइमा १५ देखि २४ वर्ष बीचका २१ प्रतिशत बेलायती मात्र सहमत छन्। सन् १९८९ मा यस्तो मत राख्नेको संख्या अहिलेभन्दा दोब्बर थियो।
तर, बाँकी विश्वमा र खास गरी एसियामा अवस्था अलि फरक छ। किनभने, यहाँ परम्परागत धारणा बलियो छ। चीनको ग्रामीण क्षेत्रमा ३० टेक्न आँटेको तर विवाह नगरेको पुरुषलाई संसारको सबैभन्दा दुःखी प्राणी मान्ने चलन छ। कतिपय अवस्थामा मानिस उसलाई खतरनाक ठानेर बोलीचाली बार्नेसम्म गर्छन्। जापानमा मात्र दुई प्रतिशत बालबच्चा अविवाहित महिलाबाट जन्मिन्छन्। भारत, उत्तरी अफ्रिका र मध्यपूर्वमा यो संख्या अझ कम छ। कतिपय गरिब र मध्यम आय भएका मुलुकमा अविवाहित जोडीलाई कानुनले नै चिन्दैन र त्यस्ता आमाबुबाबाट जन्मेका बच्चालाई नागरिक मान्दैन।
विवाहमा आएका तीन परिवर्तन
पश्चिममा विवाह संस्थामा बीसौँ शताब्दीको मध्ययता धेरै ठूलो परिवर्तन आइसकेको छ। तर, सँगसँगै यथार्थ के हो भने यो संस्था सोचेभन्दा बलियो चाहिँ छ। अर्कोतर्फ, एसियामा विवाह अझै बलियो ठानिन्छ। तर, वास्तविकतामा यो निकै कमजोर र अस्थिर भइसकेको छ। पश्चिम र पूर्वको तुलना गर्दा संस्कृतिमा आधारभूत फरक देखिए पनि यो समय र मात्राको अन्तर मात्रै हो। धेरैजसो परिवर्तन सबै ठाउँमा उस्तै छन्। तर, फरक–फरक मुलुक परिवर्तनको फरक चरणमा पुगेका छन्।
पश्चिम लन्डनदेखि चिनियाँ गाउँ र भारतीय झुपडी–बस्तीसम्म हेर्दा मुख्य रूपमा तीन वटा परिवर्तन देख्न सकिन्छ।
पहिलो, विवाहको निर्णय गर्ने अधिकार अभिभावकको हातबाट फुत्किएको छ। कोसँग विवाह गर्ने, कसरी गर्ने, कहिले गर्ने, महिला–पुरुषले आफैँ तय गर्न थालेका छन्। यसको सबैभन्दा स्पष्ट संकेत देख्न सकिन्छ, संसारभर विवाहको औसत उमेर बढेबाट। यद्यपि, केही फरक भने अवश्य देखिन्छ। उदाहरणका लागि नर्वेमा महिलाले विवाह गर्ने औसत उमेर ३२ छ भने बंगलादेशमा १९। फेरि पनि १६ वर्षमा विवाह गर्नु र १९ वर्षमा गर्नुमा धेरै ठूलो अन्तर छ। बंगलादेशमा सन् १९७४ मा केटीहरूको विवाह गर्ने औसत उमेर १६ थियो।
दोस्रो, दाम्पत्य प्रेममा जोड। पश्चिमा इतिहासलाई हेर्दा दम्पतीबीचको रोमान्टिक प्रेम अर्थात् मिलजुललाई बलियो वैवाहिक सम्बन्धमा अनावश्यक मात्र होइन, हानिकारक पनि मानिन्थ्यो।
बेलायतमा सत्रौँ शताब्दीका प्रभावशाली लेखक मानिन्थे, विलियम गाउज। आफ्नो श्रीमान्लाई ‘प्रिय, प्यारा, प्रेमी, मायालु, राजा, चल्ला, छाउरो...’ जस्ता मीठा शब्दले सम्बोधन गर्ने महिलाको उनले कटु आलोचना गरेका छन्। यस्ता शब्द प्रयोग गर्ने महिलामा दाम्पत्य सम्बन्धलाई अक्षुण्ण राख्न आवश्यक श्रीमतीको गुण अभाव हुने उनको तर्क थियो। थुप्रै बेलायतीले गाउजको भनाइ बेवास्ता गरे र आफ्ना पतिलाई मीठा–मीठा नामले पुकारिरहे। तर, गाउजको धारणा त्यसबेलाको परम्परा सुहाउँदो अवश्य थियो।
आज सर्वत्र प्रेमको जीत छ। बेलायतको नेसनल वेडिङ सोमा सहभागी हुने हरेक जोडी आफ्नो विवाह रोमान्टिक र विशेष हुनुपर्ने माग राख्छन्। ‘आजभोलि विवाह गर्नैपर्छ भन्ने छैन,’ विवाह समारोह व्यवस्थापन गर्ने अन्ना मकार्ट भन्छिन्, ‘त्यसैले आफ्नो विवाह असाधारण बनाउने रहर मान्छेलाई हुन्छ।’
पहिले विवाह एउटा रीत मात्र थियो। अहिले यो प्रेम र वचनबद्धताको उत्सव बनेको छ। अर्थात्, पहिले नै सँगै बसिरहेका दुई व्यक्ति एकअर्काप्रति थप वचनबद्ध भएका छन्।
एसियामा बेहुलाबेहुली अझै पनि विवाह भनेको ठण्डा दिमागले सोचेर गर्नुपर्छ, यसमा परिवारलाई पनि सहभागी गराउनुपर्छ भन्ने धारणा राख्छन्। तैपनि, उनीहरूको मुख्य जोड, ‘जोडी मिल्ने हुनुपर्छ’ मा रहन्छ।
जब विवाहको आधार प्रेम बन्छ, तब प्रेमबिनाको विवाह गरिनुहुन्न, भए छुटानाम गर्नुपर्छ भन्ने मत बलियो बन्छ। अर्थात्, विवाहमा आएको तेस्रो ठूलो विश्वव्यापी परिवर्तन हो, सम्बन्ध–विच्छेदलाई स्विकार्ने प्रचलन।
खास गरी, तीव्र गतिमा आधुनिकीकरण भइरहेका मुलुक, जहाँ महिला आर्थिक रूपले आत्मनिर्भर बन्न सक्षम छन्, त्यहाँ सम्बन्ध–विच्छेद सामान्य बनेको छ। आजभोलि युरोप र विकसित मुलुकको तुलनामा चीन र दक्षिण कोरियामा सम्बन्ध–विच्छेद दर उच्च छ।
पश्चिममा जोडी रोजेर मात्रै विवाह गर्ने चलन बसेसँगै सम्बन्ध–विच्छेदको दर पनि कम हुँदै गएको छ। जुन सन् १९८० को दशकमा सबैभन्दा उच्च बिन्दुमा थियो।
एसियामा विवाह
सरकार र चर्च, मन्दिरजस्ता धार्मिक संस्थाले विवाहमा भइरहेका परिवर्तनलाई रोक्न हरसम्भव कोसिस गर्छन्। तर, संसारभर विवाह कम अनिवार्य बन्दै गएको छ। विवाहपछिको जिम्मेवारीमा पनि कमी आउँदै गएको छ। यद्यपि, यसले आफ्नो आकर्षण गुमाएको छैन। ९३ प्रतिशत बेलायती विवाह गर्ने आकांक्षा राख्छन्। सम्बन्ध–विच्छेदलाई सामाजिक रूपमा स्विकारिने मुलुकमा पनि अझै विवाहलाई खास बन्धन मानिन्छ। अर्थात्, हलुका तवरले न विवाह गर्नु हुन्छ, न तोड्नु नै।
विवाह संस्थामा सबैभन्दा चाँडो उथलपुथल आइरहेको क्षेत्र हो, एसिया। यहाँ विवाह गर्नेहरूको संख्या घटिरहेको छ। किनभने, विवाहको उमेर बढिरहेको छ। पश्चिममा भन्दा ढिला विवाह गर्ने चलन बढेको छ एसियामा। जापान, ताइवान, दक्षिण कोरिया र हङकङजस्ता धनी क्षेत्रमा विवाहको औसत उमेर महिलाका लागि ३० र पुरुषका लागि ३२ पुगेको छ।
धेरैले विवाह गर्नै छोडेका छन्। ३० नाघेका झण्डै एकतिहाई जापानी महिला अविवाहित छन्। सम्भवतः तिनको आधा संख्याले कहिल्यै विवाह गर्नेछैन। ताइवानमा ३० नाघेका २० प्रतिशत महिला अविवाहित छन्। बैंककमा ४०–४४ उमेर समूहका २० प्रतिशत, टोकियोमा २१ प्रतिशत र सिंगापुरमा स्नातक गरेका महिलामध्ये २७ प्रतिशत अविवाहित छन्।
चीन र भारतमा छोरी नजन्माउने प्रवृत्तिका कारण विवाहमा समस्या देखापर्न थालेको छ। सन् २०५० सम्ममा चीन र भारतमा गरी छ करोड विवाहयोग्य पुरुषका लागि बेहुलीको अभाव हुने अनुमान गरिएको छ।
किन बेहोर्ने झन्झट ?
केही दशकअघि विवाहबिना बच्चा जन्माउनु लज्जाको विषय थियो। अविवाहितलाई शंकाको नजरले हेरिन्थ्यो। तर, अहिले त्यस्तो छैन। त्यसमाथि विवाह आफैँमा एक जटिल कार्य हो। यो उत्तिकै जोखिमपूर्ण पनि छ। अविवाहित व्यक्तिको जीवनको सबैभन्दा ठूलो डर हो, कहीँ गलत मान्छेसँग विवाह नहोस्। त्यसलाई टार्न हामी जुनसुकै उपाय पनि अपनाउन पछि पर्दैनौँ। तैपनि, थुप्रैको विवाह गलत मान्छेसँग हुन पुग्छ र उनीहरू सम्बन्ध–विच्छेदको विकल्प रोज्न बाध्य हुन्छन्। नभए आँशु पिएर बाँकी जीवन बिताउँछन्। अर्कोतर्फ, विवाह नगरी पनि तपाईं सम्मानित जीवन जिउन सक्नुहुन्छ। यति जटिलता र जोखिम हुँदाहुँदै पनि अधिकांश मानिस किन विवाह गर्न चाहन्छन् ?
किनभने, विवाह गर्नुका अन्य कारण पनि छन्। एकातर्फ एक संस्थाको रूपमा विवाहको महत्त्व घटेको छ, अर्कातर्फ अन्य कारणले यसको महत्त्व बढिरहेको छ। मानिसको व्यक्तिगत जीवन सफल र सुखी छ भनेर देखाउने एउटै तत्त्व हो, विवाह। अर्थशास्त्रले पनि विवाहलाई समर्थन गरेको हुन्छ। विवाहित जोडीले तिर्ने करको दर कम हुन्छ। चीनमा विवाह गरे कारको नम्बर प्लेट लिन सहज छ। एकपछि अर्को अध्ययनले पुष्टि गरेका छन्, अविवाहितको तुलनामा विवाहित बढी स्वस्थ, सम्पन्न र खुशी हुन्छन्। तर, खुशी, स्वस्थ र सम्पन्नले नै विवाह गर्ने हुनाले पनि यस्तो नतिजा देखिएको हुन सक्छ। यद्यपि, अध्ययनले के स्पष्ट संकेत गर्छ भने थुप्रै विवाह असफलतामा टुंगिए पनि समग्रमा विवाहले मानिसको खुशी बढाउँछ।
विवाहले पनि त्यो वर्गलाई बढी फाइदा पुर्याइरहेको छ, जुन वर्गसँग अभाव हुँदैन। उच्चशिक्षा लिएका महिला र पुरुष निकै होसियारीपूर्वक ढिला विवाह गर्ने गर्छन्। र, उनीहरूकै विवाह बढी सफल र सुखमय हुन्छ। यस्तो समूहमा सम्बन्ध–विच्छेद पनि बिरलै हुने गर्छ।
अन्य थुप्रैका लागि विवाह पहुँचबाहिरको सुविधा हुन थालेको छ। मध्यमवर्गभन्दा कामदार वर्गकाले विवाह गर्ने सम्भावना कम हुने गर्छ। उनीहरूले विवाह गरिहाले भने पनि सम्बन्ध–विच्छेदको सम्भावना ज्यादा हुन्छ।
(एजेन्सीको सहयोगमा)