बेइजिङ संसारकै सबैभन्दा प्रदूषितमध्येको एउटा सहर हो। तर त्यहाँ बादल हटेर घाम लागेको देखियो भने त्यो दिन कुनै महत्त्वपूर्ण राजनीतिक भेटवार्ता वा अन्तर्राष्ट्रिय महत्त्वको कार्यक्रम आयोजना भइरहेको हुन्छ।
त्यो कुनै संयोग होइन।
चिनियाँ अधिकारीहरूले मौसमलाई कृत्रिम रूपमा परिवर्तन गर्ने कार्यक्रम वर्षौँदेखि सञ्चालन गरिरहेका छन्। यो वर्षको डिसेम्बरमा सरकारले उक्त कार्यक्रमलाई देशभरि विस्तार गर्ने निर्णय गरेको छ।
अधिकारीहरूले कृत्रिम वर्षा वा हिमपात गर्ने कार्यक्रमले सन् २०२५ भित्र ५५ लाख वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने लक्ष्य लिएका छन् जुन चीनको भूगोलको झन्डै ६० प्रतिशत हो।
तर पहिलेदेखिकै क्षेत्रीय तनावका माझ छिमेकी भारतसहितका देशहरूले उक्त प्रविधिको प्रभावको अनिश्चितताबारे चिन्ता प्रकट गरेका छन्।
चीनले कसरी मौसमलाई नियन्त्रणमा गर्न खोजेको छ?
चीनले 'क्लाउड सीडिङ' भनिने विधिलाई प्रयोग गरिरहेको छ।
यसमा सिल्भर आयोडाइड नामक यौगिकलाई बादलमा छर्केर वर्षा गराउने प्रयास गरिन्छ। यो नै मौसम परिवर्तन गराउने विधि हो।
“धेरै देशहरूले यो विधि प्रयोग गरिरहेका छन्। चीनले यसलाई लामो समयदेखि प्रयोगमा ल्याएको छ। भारतले पनि यसको प्रयोग गरेको छ, “ कर्णाटकस्थित मणिपाल अक्याडमी अफ हाइअर एजुकेशनकी जलवायुविज्ञ धनश्री जयराम भन्छिन्
“यो विधि खडेरीको ठूलो समस्या भएको अफ्रिकाको सब-सहारा वा उत्तर पूर्वी क्षेत्रमा प्रयोग गरिएको छ। अस्ट्रेलियामा पनि यो विधि अपनाइएको छ।”
तर जयरामको विचारमा अन्यत्र बेइजिङले योजना बनाएकोभन्दा सानो स्तरमा यो विधि अवलम्बन गरिएको छ।
क्लाउड सीडिङ विधिको इतिहास सन् १९४० को दशकमा अमेरिकाबाट सुरु भए पनि यसको परिणामलाई लिएर अझै पनि आशङ्काहरू गर्ने गरिएको छ।
“यसको प्रभावकारिताबारे एकदमै न्यून सङ्ख्यामा वैज्ञानिक शोधपत्रहरू लेखिएका छन्,” बेइजिङ नर्मल यूनिभर्सिटीका जोन सी मोर भन्छन्।
“क्लाउड सीडिङ विधि कुनै पनि किसिमले वैज्ञानिक रूपमा पुष्टि नगरी अघि बढाइएको थियो।”
बेइजिङले ठूला कार्यक्रमजस्तै संसद्को वार्षिक सत्र आयोजना गर्दा प्रदूषण नियन्त्रण गर्न उद्योगहरू पनि बन्द गरिन्छ।
मोरका अनुसार खेतीमा क्षति नपुगोस् भनेर चीनमा ५०,००० वटा सहरले यो विधि नियमित रूपमा प्रयोग गर्दै आएका छन्