राजनीति भनेको सिनेमाजस्तो करिश्मायुक्त हुँदैन, गीतजस्तो कोमल हुँदैन र रेखाजस्तो सोझो हुँदैन ।
स्वभावतः कलाकार पनि सामाजिक प्राणी हुन् । सामाजिकप्राणी भएको नाताले उनीहरूले राजनीतिप्रति चासो राख्नु स्वाभाविक हो । त्यो उनीहरूको अधिकार, कर्तव्य र दायित्व पनि हो । तर, राजनीति भनेको सिनेमाजस्तो करिस्मायुक्त हुँदैन, गीतजस्तो कोमल हुँदैन र रेखाजस्तो सोझो हुँदैन । त्यहाँभित्र निर्ममता, कूटनीति, समर्पण, खेल–झेल, पार्टीपद्धति, असल–खराब जस्ता तानाबाना हुन्छन् । जुन एउटा कलाकारको क्षमताभन्दा परको कुरा हो ।
राजनीतिका विकृत पक्षहरू धेरै होलान् । तर, त्यहाँभित्र राम्रा पक्ष पनि छन् । त्यहाँ पार्टीपद्धति हुन्छ । त्यहाँ योगदानका कुराहरू आउँछन् । लामो समयदेखि दुःख गर्दै आएका कार्यकर्ता त्यहाँ जोडिन्छन् । उनीहरूको योगदानको अवमूल्यन गरेरचर्चित व्यक्तिको नाम लिएर ह्वात्तै माथि पुर्याउन खोज्दा पार्टी र व्यक्ति दुवैलाई घाटा हुन्छ । पार्टीहरूले सकेसम्म घाटाको व्यापार गर्दैनन्। पहिला पार्टीले आफ्नो स्वार्थ हेर्छ ।
‘राजनीतिक दलले कलाकारलाई प्रयोग गरे’ भन्नुको अर्थ कलाकारले पनि दलहरूलाई प्रयोग गरिरहेका छन् भनेर बुुझ्नुुपर्छ ।उपयोग एकले अर्कालाई गरेकै हो । यसलाई दुरुपयोग भन्न मिल्दैन । किनभने, कलाकारलाई त आफ्नै मञ्च राम्रो हुन्छ । त्यहीँ उनीहरूका लागि ताली बज्छ । त्यहीँबाट उनीहरूले बजेट राम्रो पाउँछन् । राजनीतिमा लाग्न के जरुरी हुन्छ र ? तर, कलाकारका पनि पनि आफ्नै इच्छा र अपेक्षा होलान् । ‘राजनीतिमार्फत समाजसेवा गर्छु’ भन्ने सोच हुन्छ होला । त्यो पनि एकप्रकारको उपयोग नै हो । पार्टीलेकलाकारको लोकप्रियतामार्फत फाइदा लिन खोज्छ । कलाकारले आफ्नो व्यक्तिगत स्वार्थ हेर्छ । दुवैले नाफा–घाटा हेर्छन् ।
राजनीतिको रङ भनेको सेतो वा कालो हुँदैन । त्यो समयअनुसार परिवर्तन भइरहन्छ । त्यसैले कलाकारले राजनीतिमा हाम्फाल्नुअगाडि ‘म त्यहाँ फिट छु÷छैन, मेरो व्यवहार, स्वभाव र चरित्र त्यहाँ फिट हुन्छ÷हुँदैन’ भन्नेकुरा बुझ्नु जरुरी छ । कलाकारको चरित्र, लोकप्रियता र चर्चा एकातिर हुन्छ । त्यसलाई छोडेर अर्कोतिर लाग्दा अवश्य पनि धक्का लाग्छ ।राजनीतिमा लागेपछि त्यहाँको संगठन र नीति–नियममा मान्छे बाँधिन्छ । त्यो बेलामा उसलाई उकुसमुकुस हुन्छ । सकस हुन्छ । त्यसपछि ऊ त्यहाँबाट विद्रोह गरेर अर्को ठाउँमा जान्छ । यसरी डेरा सर्दै जानाले कलाकारको अडान र लोकप्रियता दुवैमा ह्रास आउँछ ।
जोसँग जे क्षमता छ, त्यही क्षमताको दायरमा बसेर राजनीति गर्नुपर्छ । जस्तो, करिश्मा मानन्धरले सिनेमा क्षेत्रको चलचित्र विकास बोर्डमा नेतृत्व लिने हो । कोमल वलीले लोकसंगीत र संस्कृतिबारे अनुसन्धान गरेर राज्यको एउटा अंग सम्हाल्ने हो । त्यस्तै,अर्को कुनै कलाकार राजनीतिमा लाग्छ भने आफ्नो विषयविज्ञताका आधारमा लाग्नुपर्छ ।
कलाकार भनेकोहृदयले चल्ने जात हो । तर, राजनीति मस्तिष्कले चल्छ । हृदय लिएर राजनीतिमा गइयो भने अगाडि बढ्न गाह्रो छ । हृदय भनेको भाव हो । भाव आफ्नो गतिले दौडिन्छ । त्यसले दायाँ–बायाँ सोच्दैन । तर, मस्तिष्कमा हिसाब मिलान हुन्छ । त्यो भनेको गणित नै हो । जोड–घटाउ, लिनु–दिनु सबै चल्छन्। कम मात्रै पात्र हुन्छन्, जो हृदयले राजनीति गर्छन् । हृदयले गरेको राजनीतिले केही हदसम्म सकारात्मक तरंग उत्पन्न गर्छ । तर, ठूलो परिवर्तन ल्याउन भने गाह्रै पर्छ ।
आफू जुन विधामा पोख्त हो, त्यही विषयमा केन्द्रित भएर आफूलाई राजनीति र समाजसँग जोड्न सक्नुपर्छ ।कलाकारहरू राजनीतिमा गएर सफल भएका घटना ज्यादै कम छन् । नेपालमा पनि विगतमा केही कलाकार पार्टीमा गए । तर, उनीहरूले आफूलाई राजनीतिज्ञभन्दा पनि कलाकारकै रूपमा पार्टीमा प्रस्तुुत गरे । राजनीतिमा कलाकारहरू सचेत भएर लाग्नु एकदमै सुन्दर पक्ष हो । तर, एउटा अपेक्षा बोकेर ‘म सांसद् वा मन्त्री नै बन्छु’ भनेर जाँदा नसोचेको धोका खाइन्छ ।
आफ्नो भित्री तस्बिर अरूले भन्दा आफैँले देख्न सकिन्छ । त्यस्तै कलाकारले पनि ‘म को हुुँ? मेरो हैसियत के हो?’ भन्नेकुरा थाहा पाउनुपर्छ । कसैले उचालेको भरमा, कसैले ताली पिटेका भरमा वा कुुनै नेताले सपना देखाएको भरमा राजनीतिमा लाग्ने होइन । मुख्य कुरा आफ्नो आन्तरिक शक्ति पहिचान गर्नुपर्छ ।
कलाकारलेदलीय राजनीति नै गर्नुपर्छ भन्ने छैन । हामीले आ–आफ्ना क्षेत्रबाट जे–जस्तो गरिरहेका छौँ, त्यो पनि एकप्रकारको राजनीति नै हो । म हास्यव्यंग्य गर्छु, त्यसमा समाज रूपान्तरणका कुराहरू हुन्छन् । त्यो एउटा कलाकारिता मात्रै हैन, एउटा राजनीति पनि हो । हामीले गर्ने भनेको एउटा कलात्मक राजनीति हो ।तर, जो कलाकार राजनीतिक रूपले सचेत छन्, ‘कलाकारिताभन्दा पनि राजनीतिमार्फत समाजलाई केही दिन चाहन्छु’ भनेर लागेका छन्, उनीहरूलाई मौका दिनुपर्छ । भोट बटुल्नका लागि मात्रै उनीहरूलाई उठाउनु हुँदैन । यसले कलाकार र पार्टी दुवैको भविष्य अन्योलमा पर्छ ।
कोही कलाकार राजनीतिमा जाने बित्तिकै त्यो कलाकार हुँदैन । ऊ नेता बन्छ । कलाकारले भनेको कला दिने हो । जब मन्त्री र सांसद् हुने आकांक्षा कसैले राख्छ भने त्यो नेता नै हो । राजनीतिमा कलाकारको आगमन र ‘जागमन’ त्यसकै परिणाम हो । अपेक्षा राखेर राजनीतिमा लाग्नु कलाकारकै कमजोरी हो ।