म्याग्दी– म्याग्दीमा पुराना संस्कृतिको पुस्तान्तरण गर्ने उद्देश्यले युवाहरूलाई सङ्गीत प्रशिक्षण आयोजना गरिएको छ ।
श्रीकृष्ण गण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रले ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव पुस्तान्तरणका लागि १० दिने सङ्गीत प्रशिक्षण आयोजना गरिएको हो । प्रशिक्षणका लागि सामाजिक विकास कार्यालय र बेनी नगरपालिकाले सहयोग गरेका थिए ।
सेवा केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले नेपाली मौलिक बाध्यबाधन बजाउने सीप हराएर जाने अवस्थामा पुगेपछि नयाँ पुस्तामा सीप हस्तान्तरणका लागि सङ्गीत प्रशिक्षण दिइएको बताए। वैशाख २१ देखि ३० गतेसम्म सञ्चालन भएको सङ्गीत प्रशिक्षणमा २० युवायुवती र १२ जना प्रौढहरूको सहभागिता थियो ।
तालिममा सारङ्गी, मादल, हार्मोनियम, तबेलालगायत बाध्यबाधनका सामाग्री बजाउन व्यावहारिक अभ्याससहितको प्रशिक्षण दिइएको केन्द्रका अध्यक्ष श्रेष्ठले जानकारी दिए । तालिम अवधिभर शक्ति छिनालले सारङ्गी, चन्द्रप्रसाद श्रेष्ठले तबला, प्रकाशकुमार श्रेष्ठले हार्मोनियम तथा बलराम शर्मा र पूर्णबहादुर जिसीले मादल बजाउन प्रशिक्षण दिएका थिए ।
आइतबार सहभागीले सिकेका सीपको समूहगत प्रस्तुतिसँगै प्रशिक्षणको समापन गरिएको छ । त्यसअवसरमा तालिममा सहभागी विभिन्न चार समूहले बाध्यबाधनसहित भजनकीर्तन प्रस्तुत गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले परम्परागत लोकसङ्गीत र संस्कृतिको जगेर्ना गर्न ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताए ।
‘अहिलेका पुस्ता प्रविधिसँग जोडिएका छन्, उनीहरुलाई आफ्नो मौलिककला, संस्कृतिबारे जानकारी नै नहुने समस्या बढी छ । त्यसैले मौलिक संस्कृतिबारे जानकारी र कलासम्बन्धी क्षमता विकास गराउन सकियो भने नेपालीपनलाई जोगाइ राख्न यस्ता कार्यक्रमको आवश्यकता छ’ ,उनले भने ।
सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले ज्येष्ठ नागरिकमा रहेका गीत, सङ्गीत, सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै मौलिक सङ्गीत र संस्कृतिको संरक्षणमा कार्यक्रमले रचनात्मक भूमिका खेल्ने बताए । उनले पछिल्लो सयम नेपाली मौलिकता, कला, संस्कृति र परम्परा हराएर जाने चिन्ता व्यक्त भइरहेकाले कार्यालयले विभिन्न क्षेत्र, समुदाय र जातजातिका कला, संस्कृति, भेषभूषा र परम्पराको जगेर्नामा जोड दिएको बताए ।