किन राजीनामा दिँदै छन् डीआईजी अशोक सिंह

राम्रो अनलाइन     १० फागुन २०७९, बुधबार
किन राजीनामा दिँदै छन् डीआईजी अशोक सिंह

काठमाडौं– नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । सिंहले राजीनामा दिएमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।

बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक(फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो । जन्ममिति विवाद सार्वजनिक भएपछि सिंह राजीनामा दिने तयारीमा लागेको स्रोतले बतायो । जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो ।

सिंहको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १६ पुस २०२५ जन्ममिति उल्लेख छ । त्यही अनुसार प्रहरी प्रधान कार्यालयको सिट रोलमा उनको जन्ममिति कायम गरिएको देखिएको छ ।

तर, प्रहरी नियमवालीमा सेवा प्रदेश गर्दा सम्बन्धित व्यक्तिले लिएको नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र वैयक्तिक विवरण सबैमा एउटै मिति नभए जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिका आधारमा हिसाब हुने भनिएको छ । त्यस अनुसार उनको जन्ममिति नागरिकता अनुसार कायम २०२४ कायम हुनुपर्ने प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् ।

नागरिकता अनुसारको उमेर कायम भएको भए सिंहले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को उमेर हदका कारण २२ जेठ २०७९ मै अवकाश पाउनुपर्ने हो । सिटरोलमा फरक विवरण हुँदा उनी डीआईजी बढुवा मात्र भएनन्, एआईजी बढुवामा पनि बलियो दाबेदारी प्रस्तुत गरिरहेका थिए ।

जन्ममितिको विवाद सहतमा आएपछि सिंहले आफूमाथि प्रतिशोध साँधिएको बताउने गरेका छन् । ‘यत्तिका वर्षसम्म कुनै समस्या भएको थिएन, अहिले आएर विवाद झिक्नु प्रतिसोध मात्र हो’, उनको दाबी छ । प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले भने यसबारे अनविज्ञता प्रकट गरे । उनले भने, ‘बाहिर आएका विषयहरुबारे मात्रै जानकार छु, थप थाहा छैन ।’

 

प्रतिक्रिया