उच्च रक्तचाप धनीमानी, हुनेखानेको मात्र समस्या रहेन । विगत केही वर्षदेखि निम्न आर्थिक अवस्था भएकामा पनि यो समस्या दु्रत गतिले बढ्न थालेको छ । त्यसो त उच्च रक्तचापले प्रमुखतः हृदयाघात, मस्तिष्कघात एवं मिर्गौला फेल गराउने जोखिम बढाउँछ । यदि बढेको रक्तचापलाई नियन्त्रणमा राखिएन भने यसले अन्धोपन, मुटुको चालमा गडबडी ल्याउने र मुटुलाई फेल गराउने पनि गर्छ । मधुमेह, कोलेस्टेरोल बढी हुने (हाइपरकोलेस्टेरोलेमिया) लगायत रक्त सञ्चालनका अन्य जोखिम तत्व भएका व्यक्तिमा लामो समयको अनियन्त्रित उच्च रक्तचापले माथि उल्लिखित जटिलता हुने सम्भावना ह्वात्तै बढाउँछ ।
हाल विश्वभरि तीन वयस्कमध्ये एक वयस्कमा उच्च रक्तचापको समस्या रहेको छ । वयस्क व्यक्ति भन्नाले २५ वर्षभन्दा माथिकालाई बुझाउँछ । बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्याले गाँज्ने अनुपात बढ्छ । सन् १९२० को दशकमा १० मा एक जनालाई, १९३० को दशकमा पाँचमा एक जनामा उच्च रक्तचापको समस्या देखिन्छ । अफ्रिकी देशहरूमा ४० प्रतिशत अफ्रिकी वयस्क उच्च रक्तचापबाट प्रभावित छन् ।
मस्तिष्कघात तथा मुटुसम्बन्धी विभिन्न रोगले हुने मृत्युको कारक तत्वमा उच्च रक्तचापको समस्या रहेको देखिन्छ । विकसित अमेरिकी तथा युरोपेली देशमा यो समस्या रोकथाम गर्ने, समयमै पत्ता लगाउने एवं उपचारका लागि अत्याधुनिक उपकरण र प्रविधिका कारण उच्च रक्तचापका साथै रक्तसञ्चारसम्बन्धी अन्य जोखिम तत्व घटाएर मुटुको रोगबाट हुने मृत्यु संख्यालाई उल्लेखनीय रूपमा घटाइएको छ । उच्च विकसित राष्ट्रमा शीघ्र निदान तथा कम खर्चिलो उपचार प्रविधिका कारण मृत्युदरमा कमी आएको छ । उच्च रक्तचाप नियन्त्रणमा राख्नाले मुटु रोगबाट हुने मृत्युमा पनि निकै कमी आएको छ ।
यस विपरीत अफ्रिकी क्षेत्रमा भने ४० देखि ५० प्रतिशतसम्म उच्च रक्तचापका रोगीमा वृद्धि भएको छ भने यो अनुपात अझ बढ्दो छ । नेपालजस्तो विकासोन्मुख तथा अति कम विकसित राष्ट्रमा यो समस्याको त्यति सारो निदान नै भएको छैन । समस्या नभएको होइन, समयमै पत्ता लगाउन नसकिएको हो । त्यसैले पनि उच्च रक्तचापका कारण उत्पन्न हुने जटिलता र मृत्युको सम्भावना समयमै घटाउन सकिएको छैन । मुटु रोग तथा मस्तिष्कघातले प्रभावित व्यक्तिको जीवनस्तर खस्काउने प्रक्रियालाई पनि रोकथाम गर्न सकिएको छैन ।
के हो उच्च रक्तचाप ?
मुटु खुम्चिने क्रममा मुटुबाट रगत पम्प गरिएको रगत धमनी हुँदै शरीरका विभिन्न भागमा पुग्छ । यसरी पम्प गरिएको रगतले रक्तनलीको भित्तालाई दबाब दिन्छ । जसलाई मेडिकल भाषामा सिस्टोलिक ब्लड प्रेसर (रक्तचाप) भनिन्छ । मुटुले आराम गर्ने अर्थात् एक पटकको खुम्च्याइपछि खुम्चिनुअघिको अवस्थामा आउँदा पनि रक्तनलीमा तुलनात्मक रूपमा कम दबाब पर्छ । जसलाई डायस्टोलिक ब्लड प्रेसर भनिन्छ । सामान्यतया वयस्क मानिसको सामान्य रक्तचाप १२०÷८० मिलिमिटर मर्करी हुन्छ । महिलाहरूमा अलि कम हुन्छ ।
तर, कुनै कारणले उमेर विशेषका मानिसको रक्तचाप सामान्यभन्दा बढेको अवस्थालाई उच्च रक्तचाप भनिन्छ । खासमा कुनै कारणले रक्तनलीको भित्ता साँघुरिएको वा खुम्चिएको अवस्थामा मुटुले बढी बल गर्नुपर्ने हुन्छ । यस्तो अवरोधविरुद्ध मुटु बढी खुम्चिने र त्यसकारण रक्तनलीको भित्तामा पर्ने दबाब पनि बढ्ने हुनाले उच्च रक्तचाप विकसित हुन्छ । निरन्तर रूपमा १४०÷९० भन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप मान्नुपर्छ । मधुमेह भएका व्यक्तिमा १३०÷८० भन्दा बढी पनि उच्च रक्तचापको रूपमा लिनुपर्छ ।
नुन कम खाएर, सन्तुलित भोजन गरेर, मद्यपान नियन्त्रित गरेर, नियमित शारीरिक व्यायाम गरेर, शारीरिक तौल सन्तुलन राखेर, धूम्रपानबाट टाढा रहेर उच्च रक्तचाप बढ्ने सम्भावना घटाउन सकिन्छ ।
उच्च रक्तचापसम्बन्धी भ्रम तथा यथार्थ
- यदि निरन्तर रूपमा १४०÷९० मिलिमिटरभन्दा बढी रक्तचाप भयो भने उपचार गराउन थाले हुन्छ ।
- उच्च रक्तचापको औषधि बिहानभन्दा बेलुका खानु राम्रो मानिन्छ । पहिले यसको ठीक उल्टो राति खान भनिन्थ्यो । किनकि, बिहान वा दिउँसो त्यसै पनि रक्तचाप हल्का बढ्ने समय हो तर राति गहिरो निद्रासँगै यथेष्ट आरामले त्यसै पनि रक्तचाप घट्नुपर्ने समयमा रक्तचाप बढ्न गयो भने बढ्ता हानिकारक हुन्छ । त्यसैले रातिको रक्तचाप नियन्त्रणमा राख्नुपर्छ ।
- मधुमेह, थाइरोइडजस्तै के उच्च रक्तचापविरुद्धको औषधि पनि जिन्दगीभर खानुपर्ने हुन्छ ? बाँचुञ्जेल बिहान–बेलुका भात खानुपर्छ भने एक–दुई मात्रा औषधि खान किन हिचकिचाउनु ? हामी निम, करेला खान हिचकिचाउँदैनौँ तर औषधि खान भने गाह्रो मान्छौँ ।
- कम नुनले जस्तै शारीरिक वजन नियन्त्रणले पनि उच्च रक्तचापका रोगीलाई मद्दत गर्छ । वजन घटाउन योग, व्यायाम, अभ्यास गर्नुपर्छ ।
- अनियन्त्रित उच्च रक्तचापले मुख्यतः मिर्गौला, मुटु, आँखा, मस्तिष्क, कलेजोमा असर गर्छ । हृदयाघातभन्दा मस्तिष्कघात बढी गराउँछ । मधुमेहले बरु हृदयाघात धेरै गराउँछ ।
- आधुनिक जीवनशैली तथा खानपानले उच्च रक्तचापको समस्या कलिलै उमेरमा पनि देखिन थालेको छ । यस्तो परिस्थितिमा यसका कारण उत्पन्न हुने जटिलता पनि बढी र चाँडै देखिन्छ ।
- पहिलेजस्तो उमेर ४० कटेपछि मात्र उच्च रक्तचापले छुन्छ भन्ने उमेरको हदबन्दी उच्च रक्तचापको लागि मिथ्या साबित भएको छ । त्यसैले मुटु रोग विशेषज्ञले प्रत्येक तीनचार महिनामा नियमित रक्तचाप नाप्न लगाउन सल्लाह दिन थालेको छन् ।