कैलालीमा बाढीको बबन्डर : एक जना बेपत्ता, दुई सय बढी घर डुबानमा

राम्रो अनलाइन     १९ असार २०८१, बुधबार
कैलालीमा बाढीको बबन्डर : एक जना बेपत्ता, दुई सय बढी घर डुबानमा

 

धनगढी– कैलालीमा लगातारको वर्षासँगै आएको बाढीले बगाउदा एक जना बेपत्ता हुनाका साथै दुई सय बढी घर डुबानमा परेका छन् । 

कटैनी खोलामा आएको बाढीले बगाउदा गौरीगंगा नगरपालिका ११ की २० वर्षीय सुस्मिता चौधरी बेपत्ता भएको कैलालीका प्रहरी प्रमुख एसपी पदम बिष्टले बताए। काठेपुल तान्नेक्रममा बाढीले बगाउदा बेपत्ता भएकी चौधरीको खोजी कार्य भइरहेको उनले बताए । उनको खोजीका लागि प्रहरी टोली खटिएको छ । 

लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका ३ भितरियामा पौने दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका १ सय ७० बढी घर डुबानमा परेको स्थानीय भागीराम डगौराले बताए । बाढीको सतह बढ्दै गएपछि कोही परिवार सडकमा निस्केको र कोही घर भित्रै बसिरहेको उनले जानकारी दिए ।

यसैगरी लगातारको वर्षापछि कैलारी गाउँपालिका ७ रामपुरमा बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसमानलाई सुरक्षित स्थानमा सार्ने काम भईरहेको प्रहरीले जनाएको छ । रामपुरमा तीन दर्जन बढी घरमा पानी पसेको बताइएको छ । 

जिल्लाको दक्षिणपूर्वी भजनी, लालबोझी, जोशीपुर लगायतका क्षेत्रमा वर्षा अत्यधिक भइरहेको र काडा, पथरैया, कान्द्रा सहितका नदीमा बाढीको सतह बढ्दै गएको एसपी विष्टले बताए ।  बाढी प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भनिएको उनले बताए ।

प्रतिक्रिया