काठमाडौं– इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) का प्रमुख हुसेन सलामीको इजरायली आक्रमणमा मृत्यु भएको छ। इरानको राज्य सञ्चालित सञ्चारमाध्यमले इजरायली आक्रमणमा सलामीको मृत्यु भएको जनाएका छन्।
उनी इजरायली आक्रमणमा मारिएका शीर्ष अधिकारीहरूमध्ये एक हुन्। यसैबीच इजरायली आक्रमणमा प्रमुख सलामीको मृत्युपछि पूर्व कुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमाण्डर–इन–चीफ नियुक्त गरिएको छ। यसका साथै जनरल वाहिदीले आक्रमणको जवाफ दिन आदेश जारी गरेका छन्। यो जानकारी इरान रिभोलुसनरी गार्डको एक्स ह्यान्डलमा दिइएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा हालसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ। जसमा इरान रिभोलुसनरी गार्डका कमाण्डर–इन–चीफ हुसेन सलामी, खातम–अल–अन्बिया केन्द्रीय मुख्यालयका कमाण्डर घोलामली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी छन्।
यसबाहेक आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी, आणविक वैज्ञानिक तथा तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि आक्रमणमा मृत्यु भएको थियो।