हिरोदेखि भिलेनसम्मलाई मधुबालाको गुलाब

एजेन्सी     ०२ फागुन २०७७, आइतबार
हिरोदेखि भिलेनसम्मलाई मधुबालाको गुलाब

बलिउडकी सदाबहार सुन्दर अभिनेत्रीका रूपमा प्रसिद्ध छिन्, अभिनेत्री मधुबाला। उनको जन्म भ्यालेन्टाइन्स डेकै दिन भएको थियो अर्थात् १४ फेबु्रअरीमा। त्यसैले होला उनी धेरै ‘रोमान्टिक’ थिइन्। उनी जुन अभिनेता र निर्देशकसँग काम गर्थिन्, त्यसलाई नै प्रेम प्रस्ताव राखिदिन्थिन्।

भनिन्छ, हरेक निर्देशक र हिरोसँग उनलाई प्रेम हुन्थ्यो। मधुबालाको प्रेम प्रस्ताव राख्ने तरिका सधैँ एकनासे हुन्थ्यो। उनी आफूलाई मन पर्ने हिरो अथवा निर्देशकलाई गुलाबको फूल र प्रेम पत्र दिएर प्रेम प्रस्ताव राख्थिन्।

एक पटक उनले अभिनेता प्रेमनाथसामु प्रेम प्रस्ताव राखिदिइन्। यो सन् १९५१ को कुरा हो। मधुबाला र प्रेमनाथ फिल्म ‘बादल’ मा सँगै काम गरिरहेका थिए। प्रायः खलनायकका भूमिकामा देखिन्थे, प्रेमनाथ।

सुटिङको पहिलो दिन थियो। मधुबाला सुटिङस्थलमा आइन्। उनी सीधै प्रेमनाथको मेकअप रुममा छिरिन्। एउटा गुलाबको फूल र प्रेमपत्र उनलाई दिइन्। मधुबालाको हर्कत देखेर प्रेमनाथक एकछिन अकमकाए। उनले केही बुझ्न सकेनन्। उनले चिठी खोलेर पढे। त्यसमा लेखिएको थियो– ‘यदि तपाईं मसँग प्रेम गर्नुहुन्छ भने कृपया यो गुलाबको फूल स्वीकार गर्नुहोस्। नत्र, मलाई फिर्ता दिनुहोस्।’

चिठी पढेर उनी छक्क पढे। यति सुन्दर अभिनेत्रीले आफूलाई प्रेम प्रस्ताव राखेको देख्दा उनलाई विश्वासै लागेन। उनले मधुबालाको प्रेम प्रस्ताव स्वीकार गरे। ‘मलाई तपाईंको प्रेम प्रस्ताव स्वीकार छ’ भन्दै उनले गुलाबको फूल आफ्नो कोटमा राखे।
यहीबाट प्रेमनाथ र मधुबालाको अफेयर सुरु भयो। पछि बिस्तारै मधुबाला प्रेमनाथबाट टाढिँदै गइन्। उनले यस्तो किन गरिन् प्रेमनाथले बुझ्न सकेनन्।

उनका मित्र अशोक कुमारले केही हप्ताअघि मधुबालाले आफूलाई गुलाब र प्रेमपत्र दिएको कुरा सुनाएपछि प्रेमनाथले बुझे मधुबाला किन टाढिइन् भनेर। 

प्रतिक्रिया