गृहमन्त्री श्रेष्ठद्वारा त्रिशूलीमा विपद् अभ्यास अवलोकन

राम्रो अनलाइन     १८ जेठ २०८०, बिहिबार
गृहमन्त्री श्रेष्ठद्वारा त्रिशूलीमा विपद् अभ्यास अवलोकन


    चितवन–

                    पानीभित्र पौडनु छ, माछासरी सलल
                    निर्दोष ती लाश उठाउँछौँ आँशु हुन्छ टलपल
                    सकेसम्म लाशै पनि सड्न दिने छैनौँ
                    जनताको आशा भरोसा मर्न दिने छैनौँ । 

यस्तै भावनाका साथ सशस्त्र प्रहरी बलका गोताखोरले आज त्रिशूली नदीमा बगेका बाढीपीडितलाई उद्धारसम्बन्धी विपद्को अभ्यास प्रस्तुत गरे । उनीहरुले नदीमा बग्दै आएका ती व्यक्तिलाई उद्धार गरी प्राथमिक उपचारपछि निजकैको अस्पतालसम्म पुर्‍याउने गरिएको अभ्यास देखाए । 

सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालयले आज त्रिशूली नदीमा आयोजना गरेको अनुकरणीय अभ्यासमा गोतखोरहरुले पानीमा बग्दै बचाउबचाउ भनी चिच्याएका व्यक्तिलाई डोरीको सहायताले तानेर उद्धार गरे । पानीमा बगेका व्यक्तिलाई ‘र्‍याफ्टिङ बोट’को सहायताले उद्धार गरिएको थियो । यस्तै गरी बग्दै आएका अर्का व्यक्तिलाई झोलुङ्गे पुलबाट डोरीको सहायताले उद्धार खोर त्रिशूली नदीमा झरी उद्धार गरेर सुरक्षित स्थानमा लगिएको थियो । 

सोही बखत भिरमा घाँस काट्दै गरेको अर्का व्यक्ति नदीमा खसेपछि डोरीको सहायताले नदीमा पुगेका अर्का गोताखेरले पिठ्युँमा बोकी किनारामा ल्याए । माछा मार्न गएका केही व्यक्तिमध्ये दुई जना पानीमा बेपत्ता भएकाले गोताखोरको समूहले पानीभित्रै गएर एक जनालाई जीवितै र अर्कालाई मृत अवस्थामा उद्धार गरेका थिए । उद्धार गर्ने क्रममा गोताखोरकै  र्‍याफ्टिङ बोट पल्टिएकाले पानीमा पौडदै उनीहरु पुनः र्‍याफ्टिङ बोट पहिल्यकै अवस्थामा ल्याएर खोजी कार्य जारी राखे  । 

सशस्त्र प्रहरी बलले गरेको अभ्यासको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवलोकन गरे । उनले देशको सार्वभौमसत्ता तथा अखण्डताको सम्वद्र्धनका साथै एकता र शान्ति सुरक्षामा सुरक्षा निकायले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले भने, ‘देश सुन्दर भएर पनि बाढी पहिरो, भूकम्प, आगलागीलगायत विपत्तिका सामना हामीले गर्दै आउनुपरेका छौँ । यस कारण विपद् न्यूनीकरण गर्न गठित विपद् व्यवस्थापन प्राधिकरणले काम गर्दै आएको छ ।’

उनले यसका लागि सशस्त्र प्रहरी बलले सराहनीय योगदान पुर्‍याउँदै आएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले गृहमन्त्रालय शान्ति र सुरक्षाका लागि विगतमा गरेका कामको समीक्षा गर्दै सबै सुरक्षा निकाय तथा कर्मचारीको कामलाई परिमार्जन गरी प्रभावकारी तुल्याउन लागेको जानकारी दिए । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोताखोरले गर्दै आएको काम राज्य र नागरिकलाई आफ्नो ज्यान सुम्पे बराबर हो भने । उनले जीवित वा मृतावस्थामा उद्धार गरी परिवारका सदस्यलाई बुझाउनु उदाहरणीय कार्य भएको उल्लेख गर्दै उहाँले पानीको गहिराइबाट एक व्यक्तिलाई गरिएको उद्धारको खुसी सबैभन्दा ठूलो सन्तुष्टि हुने बताए । 

उनले उद्धार कार्य सबैभन्दा महँगो र जटिल भएकाले उद्धारकर्ताका लागि आवश्यक सामग्री खरिदका लागि गृह मन्त्रालयमा पहल भइरहेको जानकारी दिए । 

विसं २०५० सालमा नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित त्रिशूली नदीमा बेपत्ता हुँदा बङ्गलादेशबाट गोताखोर झिकाउनुपरेको थियो । विसं २०६७ मा बेस क्याम्पका रुपमा स्थापित यस विपद् व्यवस्थापन तालिम शिक्षालयले हालसम्म ७४ दक्ष गोताखोर उत्पादन गरिसकेको छ । हालसम्म दुई सय ७३ वटा विभिन्न विपद्का घटनामा आठ सय दुई जनालाई जीवितै उद्धार र तीन १७ जनाको शव निकालिएको सो अवसरमा जानकारी दिइएको थियो । 

प्रतिक्रिया