दुर्ग निवासिनी दुर्गा भवानी विश्वलाई नै आकर्षक रूपमा गतिशील राख्ने भवयानी–भवानी हुन् । दुर्गा भवानीलाई पौराणिक आख्यान–मार्कण्डेय पुराणले महिषासुर दानवलाई मोचन गर्ने÷मार्ने शक्तिपुञ्ज भनेको छ । दुर्गा अत्यन्त ओजस्वी शक्तिशाली नारी हुन् भन्ने तथ्यलाई मूर्तिकारले अठार हात भएको आकारमय मूर्तिमा कुँदेका छन् । अनेक शक्तिलाई प्रतिनिधित्व गर्ने साधनाहरू अठारै हातमा समाउन दिइएको छ । दुर्गाको अठार हात हुनुको अर्थ नौजना कर्मठ नारीले एकैसाथ समन्वयात्मक तवरले सामूहिक रूपमा काम गर्न सक्ने क्षमताको प्रदर्शन गरेको छ । नौजनाको सामूहिक र समन्वयात्मक कार्यदक्षतालाई दर्शाउन एकै शरीरमा अठार हात जडिएका छन् । तिनै नौजनाको एकीकृत स्वरूप अठार हात बनेको छ । एकीकृत स्वरूपलाई दर्शाउन मूर्तिकलाका मर्मज्ञ कलाकारले दार्शनिक ढाँचामा एकै शिर कुँदेर एकाकार दर्शाएका छन् । अठार हात÷नौजनैलाई समन्वय गरेर कार्य सम्पादन गर्न गराउन एक सक्षम मन–मस्तिष्क चहिने तथ्य बोध गराउँछ यसले ।
यसरी सोच्दा कला जीवन दर्शन बन्छ । जीवन दर्शन जीवनलाई हेरिने–देखिने अन्तरमनको साधना भनूँ भनूँ लाग्छ । हेर्न सक्नु पर्दोरैछ, देखिन थाल्दोरैछ । झण्डै आठ दशक हाराहारीसम्मै नथाकीकन हेर्दै–देख्दै गर्दा घैँटोमा घाम लाग्न थालेछ मेरो । कलामा जीवन दर्शन गर्न थालिरहेछु । दर्शनमा कला मुर्तिन थालेको अनुभूति पाउन थालिरहेछु । एकै शरीरमा अठार हात जोडिनुको मर्मबोध गर्न पाउँदाका क्षण आनन्दसार लाग्दो रहेछ । आनन्दित छु म । प्रसंग दुर्गा भवानीको यो । दुर्गा जुन दुर्गको प्रतिविम्ब धारण गर्छिन् । दुर्ग किल्ला । किल्ला जसलाई सुरक्षा स्थान मानिन्छ । तिनै सुरक्षाको गढका अधिपति महिषासुर–मर्दिनी–दुर्गा भवानी । जसलाई आराध्य ठान्छौँ अनि मान्दछौँ हामी आजीवन मूलतः शरदको आश्विन शुक्लमा अनि वसन्तको बहारसित चैत्र शुक्लमा पनि ।
शरद पूर्णताको सार्थक ऋतु । शारदीय आकाश, मौसमको लटरम्म फलदायक याम । वसन्त नवपल्लव पलाउँदो वसन्ती बहारको उल्लास अनि मदमस्ती यौवन–जीवन याम । पुर्खाले यी दुवै प्राकृतिक उत्सर्गपूर्ण मौसमलाई शारदीय र वसन्ती मौसमी ऋतु–कालप्रति चेतनाको दीप बालेर अपनाएका थिए । हामी हौँ तिनकै अनुयायी, अनुगामी संस्कारका पालक । चाडपर्व त्यसैले संस्कृतिको एक पक्ष बनेको छ । यो विश्वजनित संस्कार बनेको छ । संसारका अनेक राष्ट्रका आआफ्ना शाश्वत परम्परा रहे–बनेका छन् । हामी पनि यसै धर्तीका सन्तति हौँ । विश्वका विभिन्न राष्ट्रिय चाडपर्वका अवसरहरू पनि मौसम सुुहाँउदो नै निर्धारित छन् । मौसम त्यसकारण संस्कार र संस्कृतिका अजस्र र अधार स्रोतकेन्द्र हो । शरद र वसन्त ऋतुमा अपनाइएका विजया र चैते दशैँ यिनकै फल हुन् ।
दुर्ग भन्नु किल्ला÷गढ । तिनै गढमा जीवनको वर्चस्व अडे–रहेको हुुन्छ; छ । दुर्गाको दुर्गका लागि आक्रान्त रहन्छ महिषासुर । महिष रूप–अकारमा प्रतिविम्बित पारिएको असुर प्रवृत्तिलाई दुर्गाकालीन युगमा आक्रामक प्रवृत्तिलाई राँगो÷महिषमा प्रस्तुत गरिएको छ । महिष+असुर=महिषासुर । महिषासुर प्रवृत्ति उत्तेजक र आक्रामक रहन्छ । ऊ आफूभित्रको उत्तेजनाले आक्रान्त रहन्छ, बन्छ । दुर्गाको दुर्गका लागि लालायित बन्छ । दुर्ग योनी ! ऊ सम्हाल्न नसक्ने हुन्छ । अधीर बन्छ । उत्तेजनाले आक्रान्त बन्छ । दुर्गाको दुर्गमा लालायित भएर दुर्गामाथि आक्रमण÷गर्ने उत्तेजक बलात्कारी महिषासुर । नौवटी सशक्त नारी शक्तिकी पुञ्ज बनेकी दुर्गाको इच्छा विपरीतको बलात्कारी राँगे–चेष्टा विफल बन्छ । महिषासुर पराजित हुन्छ । महिषासुर बध हुन्छ दुर्गाकै हातका भालाले घोचिएर । तत्कालीन महिषासुरको बलात्कारी चेष्टाको अन्त्य हुन्छ । उन्मुक्त, उत्तेजक, बलात्कारी प्रवृत्तिको पराजय विजया दशैँको दार्शनिक विम्बबोधक संस्कार झल्काउँदो पर्व बनेको छ ।
दुर्गमाथिका बलात्कारी चेष्टा बढेको अधिष्ठात्री दुर्गाकै नारी करामत जयन्ती विजया दशैँ÷दशमी पर्व बन्यो; चाड रह्यो । बलात्कारी चेष्टा आफँैले गर्न सक्नुपर्छ दमन । यही अभिप्रायले अभिप्रेरित भएर पुर्खाले विजया पर्वलाई उत्सव बनाए; माने । हामी अनुसरण गरिरहेछाँै यस मनोवैज्ञानिक असर राख्ने क्रियात्मक संस्कारधारी संस्कृतिलाई । प्रत्येक संस्कृति संस्कारमय हुन्छ । सांस्कृतिक अनुष्ठानका आधार प्राकृतिक, जैविक, मनोवैज्ञानिक, शारीरिक जे पनि हुन सक्छ । गुढ रहस्य फेला पार्ने काम संस्कृतिपरायण सहभागीहरूकै थाप्लोको नाम्लो हो । भइ नै रहन्छ यो सदा–सदा निरन्तर । यसको लागि युग–दर्शन चाहिएको हुन्छ । युग–दर्शन समयसापेक्ष रहन्छ; बन्छ । प्रत्येक युगमा भइरहन्छ यसो । हामी भन्छौँ यसलाई युग–सापेक्ष व्यवहार– युगीन चिन्तन–मनन ।
प्रत्येक बलात्कारी चेष्टालाई महिषासुरे प्रवृत्ति भन्छु म । महिषासुरे प्रवृत्ति र चेष्टा समय, स्थान र परिवेशअनुसार फरक–फरक ढंगले भइरहेको हुन्छ । महिषासुरे प्रवृत्ति मान्छे भएसम्मै चलिरहन्छ । थामथुम हुन्छ; गरिन्छ । तर, निर्मूल हुन्न; पार्न सकिन्न । मान्छे पनि जन्तु नै हुन् । जन्तुमा पाशविक तन्तु अन्तरनिहित रहन्छ; रहेको हुन्छ । तिनै प्रवृत्ति हुन्, जसलाई पाशविक तृष्णा भन्छौँ हामी । मानिसभित्र पाशविक चेष्टाहरू प्रबल भइदिँदा बलात्कारी स्वभाव उत्पन्न हुन्छ । मानिसमा पशु चेष्टा दबिएर रहेकै हुन्छ । उसले दबाउन सके दमित रहन्छ त्यो । नसकेको घडी उत्तेजनामा बलात्कारी व्यवधान बनेर विष्फोट हुन्छ । त्यस्ता बलात्कारी महिषासुरे प्रवृत्तिलाई सम्याउनकै लागि हामी विजया दशमी पर्वलाई चाड भन्छौं, मान्छौँ धुमधाम । त्यो उग्र बलात्कारी चेष्टा नष्ट दुर्गाले महिषासुर बध गरेर पारिन् । अचेल दुर्गाको भाला देश देशावरका कानुन बन्न पुगेको छ । प्रहरी, सशस्त्र प्रहरी, सेनाका बन्दुकका संगिनमा रूपान्तरित हुन पुगेका छन् । तिनै रूपान्तरित संगिनरूपी भाला–तरबारलाई सैनिक जवान, प्रहरी जवान आ–आफ्ना कोतमा पूजा गर्छन्, बलि चढाउँछन् । भन्छन् अनि सबै मिली; जय भवानी माता ! जय दुर्गे ! जय मंगलकारी माता !