द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित 

राम्रो अनलाइन     ०६ साउन २०७९, शुक्रबार
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित 

 

काठमाडौं– द्रौपदी मुर्म भारतको राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । उनी १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन् । सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मुले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् ।

जुलाई २४ तारिखमा राष्ट्रपति रामनाथ कोभिन्डको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मुले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्नेछिन् । उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी छिन् ।

उनको जन्म सन् १९५८ को जुन २० मा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा बिरांची नारायणमा भएको थियो । उनी झारखण्डको अल्पसंख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्छिन् । 

उनले २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको नवौं राज्यप्रमुख (गभर्नर) को रूपमा काम गरेकी थिइन् । उनका हजुरबुवा र बुवा गाउँ पञ्चायतका अध्यक्षसमेत भएका थिए ।

मुर्मुको विवाह बैंकर श्यामशरण मुर्मुसँग भएको थियो । श्यामशरणको सन् २०१४ मा मृत्यु भएको थियो । मुर्मुको दुईजना छोराहरु र एक छोरीको जन्म भएको थियो । चार वर्षको अवधिमा श्रीमान् र दुईजना छोराहरुको देहान्त भएको थियो ।

राज्य राजनीतिमा प्रवेश गर्नुअघि मुर्मुले विद्यालय शिक्षिकाको रूपमा काम सुरु गरेकी थिइन् । श्री अरविन्दो इन्टिग्रल एजुकेशन एण्ड रिसर्च इन्स्टिच्युट, रायरङपुरमा सहायक प्राध्यापक र ओडिशा सरकारको सिँचाई विभागमा सहायकको रूपमा समेत उनले काम गरेकी थिइन् ।

मुर्मु १९९७ मा भारतीय जनता पार्टी (बीजेपी) मा सामेल भएर रायरंगपुर नगर पञ्चायतको पार्षद निर्वाचित हुँदै सन् २००० मा अध्यक्ष भइन् । उनले अल्पसंख्यक जनजातिहरुको मोर्चामा राष्ट्रिय उपाध्यक्षको रूपमा पनि काम गरिन् । उनी उडिसा राज्यमा दुईपटक मन्त्रीको रुपमा जिम्मेवारीमा रहिन् । 

मुर्मुले भाजपा सांसदहरू र अन्य विपक्षी दलहरूबाट आफ्नो उम्मेदवारीको लागि समर्थन खोज्दै देशभर विभिन्न राज्यहरूमा भ्रमण गरिन् । उनले पूर्वोत्तर राज्यहरुसहित झारखण्डको जेएमएम पार्टी, ओडिशाको बीजेडी, महाराष्ट्रको शिव सेना, उत्तर प्रदेशको बसपा, कर्नाटकको जेडीएस र अन्य पार्टीहरुका वरिष्ठ नेताहरुसँग समर्थनको लागि छलफल गरेकी थिइन् ।

प्रतिक्रिया