तनहुँ – तनहुँको सदरमुकाम दमौली र यस आसपासमा मङ्गलबारदेखि छ दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ । मुग्लिङ पोखरा पृथ्वी राजमार्ग सडक विस्तारको क्रममा दमौली बजार सडक किनारमा पोल गाड्ने कार्य भइरहेकोले दैनिक सात घण्टा अवरुद्ध हुने तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए।
उक्त पोलमा नयाँ लाइन विस्तार गरी पुरानो संरचनाहरू हटाउने कार्यका लागि भदौ २५ गतेदेखि ३० गते सम्म दमौली फिडरबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा अवरुद्ध हुने बताएका हुन्। रेग्मीका अनुसार व्यास नगरपालिकाको वडा नं १,२,३,४ दमौली बजार र वडा नं ५ को चापघाट, पाटन, मानुङ्गकोटमा आवश्यकता अनुसार विहान १० बजे देखि साँझ ५ बजे सम्म विद्युत् आपूर्ति बन्द हुनेछ । उपभोक्तालाई समस्या नपरोस् भनेर पाँच दिन भन्दा अघि नै सम्पन्न गर्ने गरी काम गरिने केन्द्रले जनाएको छ ।