किशोर भण्डारी, कलाकार
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृंखला ‘डिट्ठा साब’मा म दुइटा भूमिकामा छु। एउटा डिट्ठा अर्को डिट्ठाको बुबा। यसअघि यसै टेलिभिजन च्यानलबाट प्रसारण हुने ‘हर्के हल्दार’मा काम गरेको थिएँ। त्यसमा हर्केको भूमिका निर्वाह गरेको थिएँ।
पछि कारणवश मैले कार्यक्रम छोडेँ। कार्यक्रम छाडेर यसै बसिरहेको थिएँ। कान्तिपुरमा कार्यक्रम निकाल्नुपर्छ भन्ने प्रस्ताव आइरहेको थियो। डिट्ठाको भूमिकाबारे सोचिरहेको थिएँ। एक दिन बाटोमा हिँडिरहँदा एक जनाले बोलाएर ‘म हजुरको फ्यान’ भनेर भन्नुभयो।
उहाँको बोली अहिले मैले डिट्ठा साबमा बोल्ने बोलीजस्तै थियो। मलाई उहाँको बोलीले आकर्षित ग¥यो। मैले डिट्ठाको स्वर उहाँको जस्तै बनाएँ र बाको स्वर बोल्ड राखेँ। यसरी डिट्ठाको क्यारेक्टर जन्मियो।
यो मेरो आफ्नै सिर्जना हो। मलाई आफूलाई डिट्ठाका रूपमा ढाल्न तीन महिना लाग्यो। ऐना हेरेर बाटोमा भेटेको मान्छेजस्तै बोल्ने प्रयास गर्थें। अरूलाई आफ्नो अगाडि राखेर सुन्न लगाउँथेँ। सबैले राम्रो छ भनेपछि मैले डिट्ठा साब टेलिभिजन शृंखला बनाएँ।
मलाई सेटमा तयार हुन एक घण्टा लाग्छ। दुई वटा क्यारेक्टरका लागि मेकअप गर्दा एकदमै समय लाग्छ। एकदमै फरक देखिनुपर्ने भएकाले कुनै भूलचुक नहोस् भन्ने लाग्छ। राम्रो मेकअप गर्नुपर्छ। दुइटै भूमिका आफैँले निर्वाह गर्नुपर्ने भएकाले ग्राहो हुन्छ। खास गरी, स्वरमा ध्यान दिनुपर्छ। कहिलेकाहीँ स्वर बिग्रिएर रिटेक पनि खानुपर्छ। स्वरमै मेरो धेरै मेहनत लाग्छ।
डिट्ठालाई लट्ठी प्रिय लाग्छ। सर्ट–प्यान्ट लगाएर लट्ठी बोकेपछि डिट्ठा साब बन्छु। जुंगा, माकल टोपी लगाएपछि डिट्ठाको बा बन्छु। डिट्ठा बन्दा एकदमै सोझो बन्नुपर्छ भने बा बन्दा एकदमै बोल्ड। कहिल्यै पनि एकै टेकमा ओके गर्दिनँ। मलाई जति टेक लियो, त्यति राम्रो हुन्छ भन्ने विश्वास छ। स्क्रिप्ट पनि आफँै लेख्छु। सबैको भूमिका दिमागमा राख्नुपर्छ। कहिलेकाहीँ अरूको भूमिका याद गर्दा आफ्नै रोल बिर्सिन्छु।
पहिलो पटक डिट्ठा बनेर सुटिङ गर्दा एकदमै डराएको थिएँ। आफैँले सिर्जना गरेको क्यारेक्टर कस्तो हुने हो भन्ने डर लागेको थियो। दर्शकबाट कस्तो प्रतिक्रिया आउने होलाजस्तो पनि लागेको थियो। कार्यक्रम प्रसारण भएपछि सबैबाट राम्रो प्रतिक्रिया पाएँ। दर्शकबाट राम्रो प्रतिक्रिया पाउँदा खुशीले रोएको थिएँ। मैले सिर्जना गरेको क्यारेक्टर दर्शकले रुचाउँदा आत्मबल बढ्यो।
मलाई आजभोलि घरमा पनि डिट्ठा नै भनेर बोलाउँछन्। दर्शकले पनि किशोर भण्डारी भनेर चिन्नुहुन्न। डिट्ठा भनेर चिन्नुहुन्छ। अझै मैले दर्शकलाई चाहेको जति दिन सकेको छैनजस्तो लाग्छ। आफैँले सिर्जना गरेकाले होला, डिट्ठाको साह्रै माया लाग्छ। अहिले ‘डिट्ठा साब’मा शृंखला दोहोरिरहेका छन्। छिट्टै डिट्ठालाई राखेर नयाँ कार्यक्रम सुरु गर्ने योजना छ।