‘ठमेल बजार’, ‘काले दाइ’ जस्ता आइटम गीतबाट चर्चा बटुलिरहेकी मीना निरौलाको गीत–संगीतमा प्रवेश भने शास्त्रीय संगीतबाट भएको हो । आफू भित्रको गाउने रहर उजागर गर्न बुबाको भूमिका भएको ठान्छिन्, उनी । आफ्नो असली संगीत गुरु पनि बुबालाई नै मान्छिन् । भन्छिन्, ‘बुबाले घरमा पुराना राम्रा–राम्रा गीत ल्याएर सुन्नुहुन्थ्यो । ती गीत सुन्दा–सुन्दा नै मभित्र रहेको गाउने रहर जाग्यो । त्यसैले बुबा नै मेरो संगीतको असली गुरु ।’
भारत, मणिपुरकी मीनाले कक्षा ११ मा पढ्दा नै शास्त्रीय संगीत सिक्न सुरु गरिन् । गायन यात्राको छोटो समयमै मणिपुरी फिल्म नगरीमा छाउन थालिन् । ‘मैले मणिपुरी भाषाका एक दर्जन फिल्ममा स्वर दिइसकेकी छु,’ उनी भन्छिन्, ‘म त्यहाँ एकदम हिट भइसकेकी थिएँ । नेपाली फिल्ममा अहिले जसरी काम पाइरहेकी छु, त्यसरी नै त्यहाँको फिल्म उद्योगमा काम पाइरहेकी थिएँ ।’
मीनाले मणिपुरी फिल्म नगरीमा पाउन थालेको चर्चामा ‘यूटर्न’ भयो १२ वर्ष अघि । कारण– बिहे । उनका अनुसार नेपालको ताप्लेजुङबाट उनका पुर्खा मणिपुर गएका हुन् र श्रीमान्को परिवार पनि ताप्लेजुङकै हो ।
नेपालमा बिहे भएपछि उनी उताको सबै कुरा चटक्कै छोडेर नेपाल आइन् र शून्यबाट गायन सुरु गरिन् । ‘बिहे गरेपछि म त्यहाँको सबै चिज चटक्कै छोडेर नेपाल आएँ,’ उनी भन्छिन्, ‘म मणिपुरबाट सीधै काठमाडौँ आएँ । यहाँ आएपछि मैले जिरो लेभलबाट गायन सुरु गरेँ ।’ श्रीमान् र परिवारको साथका कारण नेपालमा संगीतको यात्रा सहज भएको उनी बताउँछिन् । संगीतमा सहयोगी घरपरिवार भए पनि भाषाका कारण भने मीनाले सुरुमा केही अप्ठ्यारा झेल्नुपरेको थियो । ‘सुरुवातमा भाषाका कारण अलिकति समस्या भयो,’ उनी भन्छिन्, ‘मणिपुरी भाषामा हुर्केकी म केही नेपाली शब्दको उच्चारण पनि राम्रोसँग गर्न सक्दिनथेँ । अझै पनि केही नेपाली शब्दको उच्चारणमा समस्या हुन्छ ।’ मणिपुरमा नेपाली भाषा बोल्ने गरिए पनि धेरै भाषाभाषीको मिश्रण भएकाले आफूलाई त्यसमा केही अप्ठ्यारो भएको उनी बताउँछिन् । काठमाडौँ, मैतीदेवी हो हाल, उनको घर । श्रीमान् क्यानडामा छन् । ३४ वर्षीया मीनाका दुई सन्तान छन् ।
नेपाल आएलगत्तै उनले पाएको अवसर हो, नेपालयको ‘पलेटी शृंखला’ । त्यहाँ आबद्ध भएर उनले अम्बर गुरुङ, प्रेमध्वज प्रधान, फत्तेमान राजभण्डारी, किरण प्रधान जस्ता नेपाली संगीत क्षेत्रका हस्तीसँग संगत गर्ने र गाउने अवसर पाइन् । माइतीका एक जना मामा शान्तकुमार लिम्बूमार्फत आफूले पलेटी शृंखलामा आबद्ध हुने अवसर पाएको उनी बताउँछिन् । भन्छिन्, ‘मैले प्रायः नेपाली संगीत क्षेत्रका हस्तीहरूसँग त्यहाँ काम गर्ने अवसर पाएँ । यसका लागि म आफूलाई साह्रै लक्की ठान्छु । त्यहाँ धेरै सिकेँ पनि । मेरो उच्चारणमा पनि धेरै सुधार आयो ।’
गायन यात्राको एक दशकमा उनले ‘सुन रे सियाराम’ जस्ता गम्भीर खालका गीतदेखि ‘ठमेल बजार’ सम्मका आइटम गीत गाएकी छिन् । तर, चर्चा भने आइटम गीतबाटै भयो । आइटम गीतबाटै ‘हिट’ भएकोमा उनलाई कुनै दुःख मनाउ छैन । ‘पहिले चिनिने गरी कडा मेहनत पनि गरेकी थिइनँ,’ उनको तर्क छ, ‘म अहिले जे छु ठीक छु । क्लासिक मेरो मूल खम्बा हो । यसकै कारण अहिले जस्तो गीत पनि गाउनसक्छु ।’ उनी आफूमा शास्त्रीय गीतदेखि आइटम गीतसँग मिल्ने ‘टोन’ भएको बताउँछिन् । ‘टोन सबैभन्दा ठूलो कुरा रहेछ,’ उनी भन्छिन्, ‘दर्शक÷स्रोताले सबैभन्दा धेरै टोन मन पराउनुहुँदो रहेछ । मसँग चाहिँ जस्तो गीतमा पनि टोन मिलाउन सक्ने क्षमता छ जस्तो लाग्छ । र, म जस्तो गीतलाई पनि न्याय गरेर गाउनसक्छु ।’
‘सुन रे सियाराम’ जस्तो गीत गाएकी मीनाले आइटम गीत नगाइदिएकी भए पनि हुन्थ्यो’ भन्ने टिप्पणीलाई उनी आफूप्रतिको सम्मानका रूपमा लिन्छिन् । ‘स्रोता÷दर्शकले त्यसो भन्नु मेरा लागि सम्मानको कुरा हो,’ उनी भन्छिन्, ‘आइटम गीत भन्दैमा नराम्रो हुन्छ जस्तो पनि लाग्दैन । तर, मेरो बेस चाहिँ शास्त्रीय नै हो । म आफँैले गीत लिएर आउँदा ‘सुन रे सियाराम’ जस्ता गीत लिएर नै आउँछु ।’
स्वर हिट भए पनि आफूलाई धेरैले नचिन्ने गरेको अनुभव उनीसँग छ । ‘‘धेरैले ‘तपाईंलाई चिनिएन, भिडियोमा देखिनुप¥यो, मिडियामा आउनुप¥यो’ भन्नुहुन्छ,’ उनी भन्छिन् ।’