चिन्ता र तनावले पनि दिन्छ सकारात्मक परिणाम !

राम्रो अनलाइन     २७ पुस २०७७, सोमबार
चिन्ता र तनावले पनि दिन्छ सकारात्मक परिणाम !

प्रा.डा. रवि शाक्य
प्रमुख मानसिक रोग विभाग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान 

खुसी, दुःख भनेझैँ चिन्ता एउटा आवेग हो । यसका पनि मानसिक र शरीरिक दुई पाटा हुन्छन् । चिन्ता हुँदा मनमा एक प्रकारको ‘केही अप्रिय भइहाल्छ की ? भन्ने नरमाइलो अनिश्चितता, असहजता महसुस हुन्छ । जस्तो परीक्षामा के–के होला भन्ने चिन्ता हो, असफल भएमा पछाडि परिन्छ भन्ने डर हो । चिन्ताका शारीरिक प्रस्तुतिहरू मुटु ढुकढुक हुनु, सास, रक्तचाप बढ्नु, रिगंटा, बेचैनी लाग्नु, पसिना छुट्नु, मुख सुक्नु, छिनछिनमा प्यास, पिसाब, झाडा लाग्नु, शरीर झमझम हुनु, पेट काउकुती लाग्नु आदि हुन सक्छन् । मान्छे सबैले महसुस गर्ने भएपनि आफ्ना आवेग आफैँले नचिन्ने पनि हुनसक्छ । धेरैले शारीरिक पक्षमा मात्र ध्यान दिई आफ्नो समस्त अवस्था बुझ्दैनन् । सबै चिन्ता हानिकारक हुँदैनन् । थोरै चिन्ताले उत्पादनशीलता बढाउँछ । अत्याधिक भएमा यसको ठीक उल्टो हुन्छ । 
तनाव
आजभोलि निकै चलनचल्तीको यस शब्दको मनोचिकित्सा क्षेत्रमा व्यापक परिभाषा छ । व्यक्तिको सामना गर्ने क्षमताभन्दा बाहिरको कुनै बदलाबले उसमा ल्याउने अशान्त मानसिक अवस्थालाई तनाव भनिन्छ । बदलाब भन्नाले उसको शारीरिक स्वास्थ्य, सामाजिक वा निजी वातावरण कुनैमा भन्ने बुझिन्छ । उसले उक्त परिवर्तन सम्भावित हानिकारक ठान्दछ । अतः तनाव व्यक्तिगत मानसिक उत्पीडन हो । हरेक परिस्थितिले हरेक व्यक्तिलाई तनाव गर्छ नै भन्ने छैन । अधिकांश मानिसहरूलाई तनाव गराउने परिस्थितिलाई तनावकर्ता  भनिन्छ । सुखद परिस्थितिमा पनि तनाव हुन्छ, जस्तै विवाह, बच्चा जन्मने, पदोन्नती हुने, ठूलो धनराशी पाउने आदि । यस्तालाई सुतानव र दुखद् परिस्थितिमा हुनेलाई कुतनाव भनिन्छ । 
तनावमा मान्छेले सही कदम चालेमा समस्या समाधान भई अझ सक्षम बन्न पुग्छ । गलत कदमले अनेकौँ शारीरिक र मानसिक समस्याहरू उत्पन्न गराउँछ । 
तनाव मानसिक रोग होइन । व्यक्तिको क्षमताभन्दा बढी कुनै पनि चुनौतीले तनाव सिर्जना हुन्छ । मानिसलाई हरेक दिन तनाव हुन्छ । तनाव महशुस पनि गर्नुपर्छ । यसले व्यक्तिलाई चनाखो पनि बनाउँछ । मेहनेत गर्ने बनाउँछ । 
समयानुचित आराम, आहार, चिकित्सकीय परामर्श, समय व्यवस्थापन, समस्या समाधान, उत्कृष्ट स्रोत साधन परिचालन, सोचविचार संशोधन गर्न सकेमा तनावबाट मुक्ति मिल्न सक्छ । 

सामान्य रोजगारी गरेर दैनिक घरखर्च धानिरहेको कसैलाई अकस्मात एक करोडको चिठ्ठा प¥यो भने त्यसले पनि तनाव नै दिन्छ । यत्रो पैसा अब के गर्ने ?कुनै योजना नभएको बेला ठूलो धनराशीलाई कसरी उपयोग गर्ने भन्ने विषयले तनाव दिनसक्छ । त्यसैले तनाव नकारात्मक कुरालेमात्र हुन्छ भन्ने हुँदैन । 
स्वस्थ्य आहार विहार, शारीरिक व्यायम, योगध्यान आदि मानिसका असल बानी व्यहोरा हुन् ।तनाव, चिन्ता, डिप्रेसनका कारण दैनिक जीवनमा असर गर्न थालेपछि चिकित्सकीय उपचार विना योगध्यान गरेर मात्र रोग ठीक हुन्छ भन्नु झाडा पखला लागेपछि साबुन पानीले हात धोएर ठीक पार्छु भनेजस्तै हो । साबुन पानीले हात धोएर खाना खाँदा झाडापखाला लगाउने किटाणुबाट जोगिन सकिएला । तर झाडा पखाला नै लागिसकेपछि साबुन पानीले हात धोएर मात्रै रोग निको हुँदैन । त्यसैले सबैखालका मानसिक समस्या योगध्यान गरेर निको हुन्छ भन्नु यस्ता समस्या भएकाहरूलाई अझै दुःख दिनुमात्रै हो । सामान्य तनावमा भएका व्यक्तिलाई योगध्यानले फाइदा गरेपनि मानसिक रोगका चरणमा पुगेका समस्याहरू योग ध्यानले मात्रै ठीक हुँदैनन् । धर्मपरिवर्तन गरेर, झारफुक गरेर मेरो समस्या ठीक भयो भनेर आउनेहरू पनि हुन्छन् । वास्तवममा उनीहरूको समस्या ठीक भएको हुँदैन । 

चिन्ताको गडबडी 

कसैकसैलाई हरहमेशा जहींतहीं एकनासे नबुझिँदो, अनियन्त्रित चिन्ता भइरहेको हुन्छ । मनौ कि ऊ भीरको छेउ उभिरहेको छ, अर्थात कुनै खतराले वरिपरि घेरिरहेको छ । उनीहरूको मन एवं शरीर प्रायः अशान्त, बेचैन, छटपट वा हडबड भैरहन्छ । मन शरीरमा एकखाले तनाव सधैँ रहन्छ । माथि उल्लेखित शारीरिक लक्षण पनि हुन्छन् । यस अवस्थाले उनीहरूका दैनिक कामकाज समेत उल्लेखनीय बाधा अड्चन पुग्छ । 

तनावको तत्काल प्रतिक्रिया

आफ्नो वा आफन्तको असुरक्षा वा अस्तित्वको खतरा हुने खालका निकै गम्भीर मानसिक आघात पर्ने अनुभव जस्तो, प्राकृतिक वा मानव निर्मित प्रकोप, भुईंचालो, बाढी पहिरो, आगलागी, युद्ध, दुर्घटना, सांघातिक हमला, बलत्कार आदि ले उल्लेखनीय क्षणिक मानसिक असन्तुलन पैदा गर्न सक्छ । यसलाई तनावको तत्काल प्रतिक्रिया भनिन्छ । सीमित सामना गर्ने क्षमता भएका रोगी, कमजोर बालबालिका, बृद्ध, महिला आदि बढी जोखिममा हुन्छन् । लक्षणहरूमा विविधता भएपनि प्रायः सुरुमा सबैलाई खङग्रङ्ग वा छानोबाट खसेझैँ हुने, एकाग्रता, होस तथा अवस्था बुझ्ने क्षमतामा कमी आउने, कहिलेकाहीँ पूरै मुच्र्छा पर्ने,उत्तेजित वा निष्क्रिय आदि हुन्छ । साथमा मुटु काम्ने, पसिना छुट्ने आदि चिन्ताका शारीरिक प्रस्तुति पनि हुन सक्छन् । घटनाको केही मिनेटभित्र लक्षणहरू सुरु हुन्छन् र २–३ दिन प्रायः केही घण्टामा पूरा बिलाउँछन् । 

तनावबाट उम्कन आफूलाई परिस्थितिअनुसार ढाल्न नसकेमा अनेकौँ चिन्ताका लक्षणहरू देखा पर्नसक्छन् । साइकोसिस, डिप्रेसन, एनजाइटी डिसअर्डर भन्न नमिल्ने तर कामकाजमा बाधा पु¥याउने गरी थोरै लक्षणहरू भएमा त्यस्तो अवस्थालाई एडजस्टमेन्ट डिसअर्डर भनिन्छ । आफ्नो घरबाट टाढिँदा एक प्रकारको खिन्नता होम सिक यसको उदाहरण हो । 

तनावको तत्काल प्रतिक्रिया, परिस्थितिअनुसार भिज्न नसक्ने एडजस्टमेन्ट डिसअर्डर जस्ता चिन्ताका रोग च्वाट्टै निको हुन्छन् । प्यानिक, फोयिबा आदि राम्रो उपचारमा पूरा निको हुने तर बेलाबेलामा बल्झने हुन्छन् । आघातको दीर्घकालीन प्रतिक्रिया अवसेसिव कम्पल्सिव डिसअर्डर पूरै ठीक पार्न निकै मुश्किल हुन्छ । चिन्ताका रोग सँगसँगै पछि गएर उदासीपन र लागूपदार्थको प्रयोग निकै देखा पर्छ जसले गर्दा उपचार अझ चुनौतीपूर्ण हुन्छन् । 
 

प्रतिक्रिया