बेइजिङ–चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानका पूर्वराष्ट्रपति मा यिङ–जेउबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ । ‘राष्ट्रपति सीले बेइजिङमा मा नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ,’ चीनको सरकारी प्रसारक सिसिटिभीले आफ्नो समाचारमा जनाएको छ ।
बेइजिङ र ताइपेइमा उनीहरूबीच दुर्लभ भेट भएको छ र यो सन् २०१५ मा सी र माबीच भएको ऐतिहासिक ‘क्रस स्ट्रेट’ शिखर बैठकपछि पहिलो बैठक हो ।
ताइवानलाई आफ्नो भूभाग दाबी गर्ने र स्वशासित टापुलाई आफ्नो नियन्त्रणमा ल्याउन बल प्रयोग गर्न कहिल्यै नछोडेको बेइजिङसँगको तनाव शान्त पार्न पूर्व राष्ट्रपति मा ‘शान्तिको यात्रा’ का लागि अप्रिल १ मा चीन आएका थिए।
उनले २० जना ताइवानी विद्यार्थीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनका प्रविधि फर्म, विश्वविद्यालय र ऐतिहासिक स्थलको भ्रमण गरेका छन्। माले प्रस्थान गर्नुअघि युवा आदानप्रदानलाई बढावा दिने र बेइजिङसँगको ‘तनाव कम गर्नु र सद्भाव बढाउनु’ भ्रमणको उद्देश्य रहेको बताएका छन्।
माले कुओमिन्ताङ (केएमटी) पार्टीको प्रतिनिधित्व गर्दै सन् २००८ देखि २०१६ सम्म ताइवानको नेताको रूपमा दुई कार्यकाल सम्हालेका थिए। माले सन् २०१५ मा सिङ्गापुरमा सीसँग ऐतिहासिक शिखर वार्ता गरेका थिए। तर सन् २०१६ मा बेइजिङको दाबीलाई अस्वीकार गर्ने उनका उत्तराधिकारी साई इङ–वेनको निर्वाचनपछि चीन ताइवानबीचको सम्बन्ध चिसिएको छ ।
गत जनवरीमा चीनप्रति बढी आक्रामक मानिने ताइवानी नेता लाइ चिङ–तेको निर्वाचनले सीमापार सम्बन्धमा थप तनाव आएको छ र बेइजिङले उनलाई ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिएको छ ।