छुट्टाछुट्टै घटनाका दुई आरोपित पक्राउ

राम्रो अनलाइन     २१ वैशाख २०७८, मङ्गलबार
छुट्टाछुट्टै घटनाका दुई आरोपित पक्राउ

चितवन । चितवनमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी–५ घर भई हाल चितवनको राप्ती नगरपालिका–९ बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

वैशाख १६ गते ११ बजेको समयमा आफ्नै घरमा छोरी नाता पर्ने अन्दाजी १२ वर्षकी बालिकालाई ती पुरुषले जबर्जस्ती करणी गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय खैरहनीमा लिखित जाहेरी दिएकी थिइन् ।

ती पुरुषलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले स्वीकार गरेकाले पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी चितवनमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० शान्तिबजारस्थित लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको सूचना पाएलगत्तै पुगेको प्रहरीले एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पूर्वी चितवनकै राप्ती नगरपालिका–८ वीरेन्द्रनगर बस्ने  ३२ वर्षीय सुजन तामाङ छन् । प्रहरीलाई देखेपछि भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागुऔषध (खैरो हेरोइन) ६ ग्राम २४० मिलीग्राम बरामद गरेको छ ।

साथै उनको साथबाट प्रहरीले नगद ३२ हजारसमेत बरामद गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय खैरहनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया