बस्ती छाड्दै मनोहराका सुकुमवासी

राम्रो अनलाइन     १२ वैशाख २०८३, शनिबार
बस्ती छाड्दै मनोहराका सुकुमवासी

भक्तपुर–भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका छन् । सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका(१ लोकन्थलीस्थित मनोहरा खोला किनाराका सुकुमवासीले बस्ती छाडेका हुन् ।

सरकारको सुकुमवासी बस्ती खाली गराउने अभियानप्रति पूर्ण समर्थन गर्दै यहाँका ७७७ परिवारले बस्ती छाड्न थालेका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुमवासी बस्तीका ८० प्रतिशतले आज दिउँसो २ः०० बजेसम्म सामान लिएर बस्ती छाडेका जानकारी दिए। 

बाँकी रहेकाहरूले आफ्ना सामान सारिरहेका बताउँदै उनले शुक्रबार बस्तीमा प्रहरीले माइकिङ गरी बस्ती छाड्न र वास्तविक सुकुमवासी सरकारको सम्पर्कमा आउन आग्रह गरेको जानकारी दिए। सरकारले थापाथलीको बस्ती हटाइसकेको जनाउँदै उनले तीनकुने गैह्रीगाउँस्थित सुकुमवासी बस्ती हटाइरहेको उल्लेख गरे। उनका अनुसार त्यहाँको बस्ती हटाइसकेपछि सोही टोली आएर मनोहरा किनाराको दायाँबायाँ रहेका बस्ती हटाउने छन् ।

भ्याएसम्म आज, नभ्याए भोली बिहानदेखि बस्ती हटाउने बताउँदै प्रहरी उपरीक्षक खड्काले सुकुमवासीले सरकारको अभियानलाई सहयोग गर्दै बस्ती छाड्नु सकारात्मक पक्ष भएको धारणा राखे । मनोहरा सुकुमवासी बस्तीमा ७७७ घरटहरामा करिब एक हजार ६०० भन्दा बढी मानिस बसिरहेका उनले जानकारी दिए। 

प्रहरी उपरीक्षक खड्काका अनुसार बस्तीमा ५० भन्दा बढी दुईतले पक्की घर रहेका छन् भने धेरै जस्ताका टहरा र ब्लकका घरहरू छन् । बस्तीमा आजै साँझसम्म भत्काउन तयारीका साथ भक्तपुरबाट करिब १०० भन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका उनले जानकारी दिए। 

यहाँका सुनिल लामाले बस्ती छाड्दै गर्दा भने, “यहाँ अधिकांश घरहरू भाडामा लगाएका छन् । पक्की घर पनि भाडामा बसिरहेका हुन्, यहाँ सुरुमा टहरा बनाएर एक समूहले रु तीन लाखदेखि रुसात लाखसम्म र पक्की घर रु १८ लाखसम्ममा बिक्री गरेका छन् । हामी टहरा किनेर बसेको १५ वर्ष भयो । सरकारले हामी जस्ता सुकुमवासीलाई उचित व्यवस्थापन गरोस्, त्यति भए पुग्छ ।”

सुकुमवासी बस्तीका बासिन्दासँग भाडा उठाउन कोही व्यक्ति आउने गरेको बताउँदै बस्तीका बासिन्दामध्ये धेरैले भाडा तिर्ने गरेको बताउँछन् । सरकारले उचित क्षतिपूर्ति दिने वा बासको उचित व्यवस्थापन गरिदिए, यो गन्हाउने खोलाको किनारामा बस्न रहर नभएको सुकुमवासी बताउँछन् ।

प्रतिक्रिया