ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख ४० हजार पुग्यो

एजेन्सी     ०५ फागुन २०७७, बुधबार
ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख ४० हजार पुग्यो

साओ पाओलो, ५ फागुन (सिन्ह्वा) : ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । 

प्राप्त समाचारअनुसार मङ्गलबारमात्र ब्राजिलका दुई लाख ४० हजारभन्दा बढीको यो सङ्क्रमणका कारण मृत्यु भएको पाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण दुई लाख ४० हजार १५९ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीले जानकारी दिएका हुन् । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

ब्राजिलमा गत २४ घन्टामा एक हजार १६७ जना कोरोना भाइरसका सङ्क्रमित बिरामीको ज्यान गएको पनि सो मन्त्रालयले जनाएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो ।

त्यसैगरी गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा कम्तीमा पनि ५५ हजार जनामा सङ्क्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

गत सातादेखि नै यहाँका कोरोना सङ्क्रमितको संख्या ५० हजार नाघेको बताइएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ९९ लाख २१ हजार ९९९ जना सङ्क्रमित फेला परिसकेका छन् ।

यसअघि शुरुका दिनमा पनि कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न नसकेको भन्दै ब्राजिलका राष्ट्रपतिको आलोचना हुँदै आएको थियो । तर पछिल्लो पटक यहाँ पनि भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा सङ्क्रमित भेटिन थालेको समाचारमा जनाइएको छ ।
 

प्रतिक्रिया