चार मिनेटको चुम्बन
सन् १९६० को दशकताका बलिउडमा प्रेम दृश्य देखाउन दुइटा फूल ठोक्काएर हल्लाइन्थे, अथवा पुरुष नै महिलाको भूमिका निर्वाह गर्थे । तर, त्यसअघि नै सन् १९३३ मा अभिनेत्री देविका रानीले पर्दामा चुम्बन दृश्य दिएर बलिउडमा हलचल मच्चाएकी थिइन् । उनले फिल्म ‘कर्मा’ मा आफ्ना श्रीमान् हिमांशु रोयसँग पर्दामा चुम्बन दृश्य दिएकी थिइन् । जो चार मिनेट लामो थियो । हिन्दी सिनेमामा अहिलेसम्म यस चुम्बन दृश्यको रेकर्ड तोडिएको छैन । खुला विचारकी देविका त्यतिबेलाकी हिट अभिनेत्री थिइन् ।

विवादित चुम्बन
निर्माता \ निर्देशक महेश भट्टकी छोरी अभिनेत्री पूजा भट्ट अभिनयपछि निर्देशनमा सक्रिय छिन् । उनले ‘पाप’, ‘होलिडे’, ‘जिस्म’, ‘जिस्म २’ लगायत फिल्म निर्देशन गरेकी छिन् । पूजा प्रायः विवादमा पर्छिन् । फिल्ममा अभिनय गर्दाताका उनलाई ‘बोल्ड’ अभिनेत्री भनिन्थ्यो । उनले बडी पेन्टिङ गरेर न्युड फोटोसुट गर्दा सिंगो बलिउड तरंगित भएको थियो । उनले आफ्ना बाबुसँग एउटा बोल्ड फोटोसुट पनि गरेकी थिइन् । जसमा उनी बुबालाई ओठमा चुम्दै गरेकी देखिन्थिन् । उनको यस फोटोसुटलाई आलोचकहरूले ‘हिन्दू सभ्यता विपरीत’ भनेका थिए ।

धेरै चुम्बन भएको फिल्म
फिल्म ‘बेफिक्रे’ मा अभिनेता रणवीर सिंह र वाणी कपुरले अभिनय गरेका छन् । बलिउडमा ‘बेफिक्रे’ लाई सबैभन्दा धेरै चुम्बन दृश्य भएको फिल्म मानिन्छ । फिल्ममा २३ वटा चुम्बन दृश्य छन् । फिल्म रिलिज हुनुअघि पोस्टर रिलिज भएको थियो । त्यसमा पनि रणवीर र वाणीले चुम्बन गरेको फोटो थियो ।
सिरियल किसर
बलिउडमा अभिनेता इमरान हासमी ‘सिरियल किसर’ का रूपमा प्रसिद्ध छन् । फिल्म ‘मर्डर’ मा उनले अभिनेत्री मल्लिका शेरावतसँग थुप्रै चुम्बन दृश्य गरेका थिए । यसपछि उनका हरेक फिल्ममा चुम्बन दृश्य हुन थाले । त्यसपछि उनलाई बलिउडको ‘सिरियल किसर’ भन्न थालियो । बलिउडका ठूला अभिनेत्रीले उनीसँग काम गर्न अप्ठ्यारो मान्न थाले र नयाँ–नयाँ अनुहारले उनीसँग फिल्म गर्ने अवसर पाए ।
एउटा चुम्बनमा बाह्र घण्टा
निर्देशक अभिषेक कपुरको फिल्म ‘फितुर’ मा अभिनेत्री कट्रिना कैफ र आदित्य रोय कपुरले काम गरेका छन् । यस फिल्ममा कट्रिना र आदित्यबीच चुम्बन दृश्य छ । जसलाई खिच्न १२ घण्टा लागेको थियो । एउटा चुम्बन दृश्य श्रीनगरमा खिचिएको थियो, जो छिटै ओके भएको थियो । तर, अर्को सिनका लागि पूरा १२ घण्टा लागेको थियो । यो दृश्य गर्न उनीहरूलाई हम्मे–हम्मे परेको थियो ।
किस नगर्ने अभिनेता
अभिनेता सलमान खानले आफ्ना हरेक फिल्ममा ‘नो किस क्लोज’ राखेका छन् । फिल्ममा प्रवेश गर्दाताका उनले पर्दामा कहिल्यै चुम्बन दृश्य नगर्ने वाचा गरेका थिए । कुनै पनि फिल्मको स्क्रिप्ट पढेपछि उनी चुम्बन दृश्य नगर्ने कुरा स्पष्ट भनिदिन्छन् । सलमानले यसो गर्नुको मुख्य कारण उनका बाल प्रशंसकलाई मानिन्छ । उनका थुप्रै बाल प्रशंसक छन् । भनिन्छ, आफ्ना बाल प्रशंसकका कारण सलमानले पर्दामा बोल्ड सिन दिँदैनन् । सलमानले फिल्म ‘राधे’ मा अभिनेत्री दीशाको मुखमा टेप टाँसेर किस सिन दिएका थिए ।