भनेजस्तो भूमिका नपाएपछि फिल्म अस्वीकार गर्ने बलिउड सेलिब्रिटी

एजेन्सी     २४ माघ २०७७, शनिबार
भनेजस्तो भूमिका नपाएपछि फिल्म अस्वीकार गर्ने बलिउड सेलिब्रिटी

‘स्क्रिप्ट मन परेन’, ‘कथा बुझिएन’ लगायत विभिन्न कारणले बलिउड स्टारले फिल्म अस्वीकार गरेका छन्। ‘सहकलाकार मन परेन’ वा ‘मेरो व्यक्तित्वसँग मिलेन’ भन्दै पनि उनीहरूले फिल्म छाड्ने गरेका छन्। तीमध्ये एक कारण भूमिका पनि हो। कहिलेकाहीँ भनेअनुसार भूमिका नपाउँदा पनि अभिनेताले फिल्म अस्वीकार गरेका छन्।


आमिर खानः ‘संजू’
निर्देशक राजकुमार हिरानी र अभिनेता आमिर खानले ‘पीके’, ‘थ्री इटियट्स’ लगायत फिल्ममा सँगै काम गरेका छन्। बलिउडलाई यी दुईको जोडीले ब्लकबस्टर फिल्म दिएका छन्।अभिनेता सञ्जय दत्तको बायोपिक ‘संजू’ मानिर्देशक हिरानीले आमिरलाईसुनील दत्तको भूमिकाका लागि प्रस्ताव गरेका थिए। तर, आमिरले अभिनेता रणवीर कपुरको बुबा बन्न मन गरेनन्। बरु, संजूको भूमिका माग गरेका थिए। तर, निर्माता विधु विनोद चोपडा र अभिनेता सञ्जय दत्तले रणवीर नै संजूको भूमिकामा उपयुक्त हुने भनेपछि आमिर पछि हटेका थिए। उनले फिल्म अस्वीकार गरे।

सैफ अली खानः ‘रेस–३’
फिल्म ‘रेस’ भन्नेबित्तिकै धेरै दर्शकको दिमागमा सबैभन्दा पहिले आउने भनेको अभिनेता सैफ अली खान हुन्। उनले सन् २००८ मा रिलिज ‘रेस’ र सन् २०१३ मा आएको त्यसको दोस्रो भाग ‘रेस–२’ मा काम गरेका छन्। तेस्रो भाग अर्थात् ‘रेस–३’ मा भने उनी देखिएनन्।अघिका दुई भागमा मुख्य भूमिकामा देखिएका उनलाई तेस्रो फिल्ममा सलमान अटाएपछि सपोर्टिङ रोल दिइयो। उनलाई अभिनेता बबी देओलको भूमिका प्रस्ताव गरिएको थियो। तर, सैफले आफू मुख्य भूमिकामा रहने अडान राखे। कुरा नमिलेपछि उनले फिल्म छाडे।

रणवीर कपुरः ‘गली ब्वाई’, ‘दिल धडकने दो’
जोया अख्तरको फिल्म ‘गली ब्वाई’ मा अभिनेता रणवीर सिंहले काम गरेका छन्। फिल्म उनीसँगै रणवीर कपुरलाई पनि प्रस्ताव गरिएको थियो। तर, मुख्य भूमिकाका लागि नभई अर्को भूमिकाका लागि। रणवीर फिल्ममा ‘मुराद अहमद’ बन्न चाहन्थे, जुन भूमिकामा रणवीर सिंह फाइनल भइसकेका थिए। जोयाले रणवीरलाई ‘नो’ भनिन्। आफूले भनेको भूमिका नपाउने भएपछि उनी  फिल्मबाट टाढिए।

रणवीर कपुर जोयालाई मन पर्ने कलाकार हुन्। यसअघि पनि उनले सन् २०१५ मा फिल्म ‘दिल धडकने दो’ का लागि उनलाई प्रस्ताव गरेकी थिइन्। फिल्ममा रणवीर सिंह, प्रियंका चोपडा, फरहान अख्तर, अनुष्का शर्मालगायत कलाकारले काम गरेका छन्। रणवीर कपुरलाई रणवीर सिंहको भूमिका अफर भएको थियो भने प्रियंका चोपडाले अभिनय गरेको रोल करिना कपुरलाई प्रस्ताव गरिएको थियो। तर, रणवीर फरहान अख्तरले निर्वाह गरेको भूमिका चाहन्थे। त्यस्तो हुन सकेन। करिनाले फिल्ममा काम गर्न रुचि देखाइनन्। त्यसपछि रणवीरले पनि फिल्म छाड्ने निर्णय गरे।

ऋतिक रोशनः  ‘दिल चाहता है’
फिल्म ‘दिल चाहता है’ अभिनेता ऋतिक रोशनलाई प्रस्ताव गरिएको थियो। त्यसमा उनलाई आमिर खानले निर्वाह गरेको भूमिका प्रस्ताव गरिएको थियो। तर, ऋतिकलाई त्यो चरित्र मन परेन। एकदमै क्रूर चरित्र लाग्यो। उनले निर्देशक फरहान अख्तरसँग अर्को भूमिका मागे। दुईबीच कुरा मिलेन र ऋतिक फिल्मबाट अलग भए।

प्रतिक्रिया