भक्तपुरको बिस्केट जात्रामा रोक लगाइयो

राम्रो अनलाइन     २३ चैत २०७७, सोमबार
भक्तपुरको बिस्केट जात्रामा रोक लगाइयो

काठमाडौं । कोभिड १९ संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुर आयोजना गरिने बिस्केट जात्रामा यस वर्ष पनि रोक लगाएको छ । स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माण गरिरहेका बेला स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले लिंगो ठड्याउने र रथ तान्ने काम गर्न रोक लगाइएको जानकारी दिए । प्यागोडा शैलीको तीनतले अग्लो भैरवको रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट बिस्केट जात्रामा तान्ने गरिन्छ ।

बिस्केट जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौं व्यक्तिहरुको सहभागीता रहने गर्दछ ।

सो भिडले कोभिड–१९ को संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकाले यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पूजा गर्ने तथा रथ तान्ने र लिंगो ठड्याउने काम गत वर्षजस्तै नगर्ने प्रजिअ भट्टराईले बताए ।

गत वर्ष पनि कोरोना संक्रमणको कारण स्थानीय प्रशासनले बिस्केट जात्रामा रोक लगाएको थियो । आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदै छ ।

प्रतिक्रिया