भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजारभन्दा बढी

एजेन्सी     २८ पुस २०७७, मङ्गलबार
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजारभन्दा बढी

नयाँदिल्ली, २८ पुस (सिन्ह्वा) : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गबारसम्म एक करोड चार लाख ७९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ५८४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार १७९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ३२७ जना पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको कारण २०० भन्दा कम व्यक्तिको मृत्यु आज दोस्रो दिन भएको सो मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाखभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १६ हजार ५५८ सक्रिय सङ्क्रमित रहेका छन् । 

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३०६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १३ जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ६९१ भन्दा बढीको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड २६ लाख ५२ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो सोमबार एक दिनमा आठ लाख ९७ हजार ५६ जनाको कोभिड¬–१९ परीक्षण गरेको छ । 
 

प्रतिक्रिया