भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन

राम्रो अनलाइन     २२ चैत २०८१, शुक्रबार
भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन

मुम्बई– देशभक्तिपूर्ण विषयवस्तुमा आधारित हिन्दी भाषाका चलचित्रमा अभिनय गरेका भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

‘भारत’ कुमारको नामले प्रसिद्ध अभिनेता मृत्युप्रति सामाजिक सञ्जालमा देश विदेशबाट श्रद्धाञ्जलि व्यक्त गरिएको छ । उहाले हिन्दी सिनेमाका लागि अभिनेता, फिल्म निर्देशक, पटकथा तथा गीत लेखनका साथै सम्पादकका रूपमा योगदान गरेका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) का सदस्य समेत रहेका कुमारको मुटुसम्बन्धी समस्याका कारण मुम्बईमा निधन भएको थियो । भारतका प्रधानमन्त्री मोदीले कुमारलाई भारतीय सिनेमाको ‘प्रतीक’ को संज्ञा दिँदै भने, ‘उनको कामले राष्ट्रिय गौरवको भावनालाई प्रज्वलित गरेको छ र पुस्तौँ पुस्तालाई प्रेरणा दिइरहनेछ ।’

आफ्नो व्यवसायिक पेशामा कुमारको अभिनयको लागि भारतीयहरूले उनलाई उच्च आदर दिने गरेका छन् । उनलाई हिन्दी फिल्म निर्देशनमार्फत् एकता र राष्ट्रिय गौरवमा ध्यान केन्द्रित गर्ने सिने कलाकारका रूपमा चिनिन्थ्यो ।  हरिकृष्ण गोस्वामीको रूपमा जन्मिएका उनले बलिउड परम्परामा आफ्नो नाम मनोज कुमार राखेका थिए ।

उनले सिनेमाको लागि भारतको सर्वोच्च सम्मान दादासाहेब फाल्के पुरस्कारसहित धेरै राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेका छन् । कुमारले सन् १९५० को दशकको अन्त्यतिर भारतीय सिनेमामा डेब्यु गरेका छन् । उनले ‘उपकार’ (१९६७), ‘पूरब और पछिम’ (१९७०) र ‘क्रान्ति’ ९१९८१० लगायत देशभक्तिपूर्ण विषयवस्तुका थुप्रै चलचित्रमा अभिनय गरेका थिए ।

प्रतिक्रिया