अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ‘दुई हजारभन्दा बढी’

एजेन्सी     २१ असोज २०८०, आइतबार
अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ‘दुई हजारभन्दा बढी’


अफगानिस्तान–अफगानिस्तानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । अफगानिस्तानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको सयुक्त राज्य भूगर्भ सर्भेक्षण केन्द्रले जनाएको छ ।

सर्वेक्षणका अनुसार हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर गएको भूकम्पपछि ५.५,४.७ र ६.२ म्याग्निच्युडका तीनवटा ठूला पराकम्पन गएका थिए । सरकारका उपप्रवक्ता बिलाल करिमीले भने, ‘मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी छ । उद्धारको धेरै प्रयासहरू भइरहेका छन् । आइतबार प्राप्त आँकडाले हताहत हुनेको सङ्ख्या यो भन्दा निकै धेरै पुग्ने अनुमान गरिएको छ ।’

जिन्दा जान जिल्लाको सर्बोल्याण्ड गाउँमा शनिबार रात परेपछि एएफपीका एक संवाददाताले भूकम्पको केन्द्रविन्दु नजिकै दर्जनौं घरहरू भत्किएको पुष्टि गरेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

स्थानीय नेक मोहम्मदले एएफपीसँगको कुराकानीमा स्थानीय समयअनुसार बिहान ११ः०० बजे पहिलो भूकम्प आउँदा आफू काममा रहेको तर भूकम्पपछि हतारहतार घर फर्किँदा त्यहाँ केही पनि बाँकी नदेखेको बताए । ‘सबै कुरा भूकम्पबाट ढलेका घरका भग्नावशेषमुनि पुरिएका थिए,’ उनले भने। शनिबार स्थानीय र घटनास्थल वरपर उपलब्ध सुरक्षाकर्मीको सहयोगमा करिब ३० जनाको शव निकालिएको थियो ।

भूकम्पपछि स्थानीयले रातभर खुला आकाशमा रात बिताएको बताए । मोहम्मदले भने, ‘अहिलेसम्म हामीसँग ओढ्ने कम्बल वा खानेकुरा केही पनि छैन । यहाँ हामी आफन्तहरू गुमाएको शोकमा छौँ र खाना पनि खान पाएका छैनौँ ।’ डब्लूएचओले शनिबार राति क्षतिको विवरण आउने क्रम जारी रहेकोले तत्काल यति नै हताहत भएको भन्ने अनुमान गर्नु हतार हुने बताएको थियो । 

हेरात शहरमा पहिलो भूकम्पको धक्का महशुस भएपछि त्यहाँका बासिन्दाले आफ्नो घर, विद्यालय, अस्पताल र कार्यालयहरू खाली गराएका थिए । बजार क्षेत्रमा हताहतका धेरै घटनाहरू भएको रिपोर्टहरू आएका छन् ।

सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि व्यापक रूपमा विदेशी सहायता फिर्ता लिएपछि अफगानिस्तान पहिलेदेखि नै गम्भीर मानवीय सङ्कटको चपेटामा परेको छ । करिब १९ लाख जनसङ्ख्या रहेको हेरात प्रान्तमा इरानसँगको सीमामा पर्छ । हेरातमा वर्षौं लामो खडेरीले धेरै कृषकहरूलाई आर्थिक तथा मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ । युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगमनजिक रहेको हिन्दकुश पर्वत शृङ्खलामा रहेको अफगानिस्तानी भूभाग अक्सर भूकम्पको चपेटामा पर्छ ।

प्रतिक्रिया