अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु

राम्रो अनलाइन     १८ जेठ २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु

 

नारायणगढ– नेपालमा कुखुरा पालन क्षेत्रमा नवीनतम अत्याधुनिक प्रविधिहरूको प्रयोग भित्र्याउन सहयोग पुर्‍याउने उद्देश्यले भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ । चितवन उद्योग सङ्घको प्रदर्शनी स्थलमा आयोजना भएको सो प्रदर्शनीको एक कार्यक्रमकाबिच भरतपुर महानगरकी प्रमुख रेनु दाहालले उद्घाटन गरे । 

प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख दाहालले पूर्वाधारको विकासमा फड्को मारेको भरतपुरले अब उत्पादनका क्षेत्रमा विशेष योजना अघि सार्ने बताए । 'कृषिको प्रचुर सम्भावना भएको ठाउँ हो । पोल्ट्रिको त राजधानी नै भयो । अबको हाम्रो कार्यक्रम कृषि र पोल्ट्रिमै केन्द्रीकृत गर्ने हो,' उनले भने । 

भरतपुर महानगरले अब आर्थिक वर्ष २०८१/८२ मा ल्याउने नीति तथा कार्यक्रमको प्रमुख विषय नै कृषि र पोल्ट्रिको उत्पादनमा जोड दिने कार्यक्रम बन्ने पनि उहाँले बताउनुभयो। उहाँले अहिले कोभिडले धारादायी भएको पोल्ट्री क्षेत्रलाई उकास्न जरुरी रहेको उल्लेख गर्दै कृषि र रोजगारीमा केन्द्रित रहेर विकास योजना अघि सारे पोल्ट्रि क्षेत्रको विकास हुने बताए । 

भरतपुर भ्रमण वर्ष चलिरहेका बेला अन्तर्राष्ट्रिय स्तरको मेला महोत्सव आयोजना गरेर भरतपुरलाई सहयोग गरेकामा उनले आयोजकलाई धन्यवाद पनि दिए  । नेपाल पोल्ट्रि महासङ्घ र इण्डिया पोल्ट्रि ईक्यूमेण्ट एसाेसिएसनको आयोजनामा सञ्चालित सो प्रदर्शनीमा १५० वटा स्टलहरू रहेका छन् । प्रदर्शनीकै अवसरमा पोल्ट्रिका क्षेत्रमा आयातित नवीनतम प्रविधिहरूका बारेमा किसानहरूलाई जानकारी गराउन विभिन्न गोष्ठी तथा सेमिनार तथा अन्तर्क्रिया सञ्चालन गर्न पोल्ट्रि पाठशाला समेत सञ्चालनमा ल्याइएको छ । 

प्रदर्शनी आयोजक संस्थामध्येको एक महासङ्घका अध्यक्ष गुणराज विष्टले प्रदर्शनीले नेपाल र भारतको कुखुरा जन्य वस्तुहरूको विकासमा उल्लेखनीय उपलब्धि हुने बताए । 

प्रदर्शनीमा नेपाल, भारत, चिन, जर्मन, वेल्जियिम, नेदरल्याण्ड, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बग्लादेश लगायतका देशका कुखुरासग प्रत्यक्ष र अप्रत्यक्ष कम्पनी तथा विज्ञहरूको सहभागिता रहेको छ । 

प्रतिक्रिया