बलिउड अभिनेत्री बिपासा बसुले बलिउडमा दुई दशक बिताइसकेकी छन्। लामो समययता उनी फिल्मबाट टाढा छिन्। सार्वजनिक कार्यक्रमा पनि त्यति देखिन्नन्। सामाजिक सञ्जालमा भने उनी निकै सक्रिय छिन्। त्यसमार्फत उनले जीवनसँग जोडिएका कुरा आफ्ना प्रशंसकसँग सेयर गरिरहेकी हुन्छिन्।
लामो समयपछि उनी काममा फर्किने भएकी छन्। एक भारतीय पत्रकारले उनीसँग हराउनुको कारण सोध्दा उनले आफू अल्छी भएकाले काममा आउन नसकेको बताएकी छन्। ‘पछिल्ला केही वर्षयता म अल्छी भएकी छु,’ अन्तर्वार्तामा उनले भनेकी छन्, ‘त्यसैले काम गर्न सकिरहेकी छैन।’
कोभिड–१९ महामारीले आफूलाई अल्छी बनाएको उनले बताएकी छन्। ‘कोरोनाले मलाई निकै डराएको थियो,’ उनले भनेकी छन्, ‘त्यसैले पटकपटक घरबाहिर जाने जोखिम मोल्न सकिनँ। आफ्नो परिवारका लागि चिन्तित थिएँ। मेरो कारणले केही गडबड नहोस् भनेर सचेत थिएँ।’
सन् २०२२ बाट काममा फर्किने योजना बनाएको उनले बताएकी छन्। ‘२०२२ बाट मैले काममा फर्किने योजना बनाएकी छु,’ उनले भनेकी छन्, ‘केही नौलो काम गर्न चाहन्छु। त्यसमा आशावादी छु।’