आन्तरिक शुद्धिकरण पहिलो प्राथमिकता : प्रहरी महानिरीक्षक कुँवर

राम्रो अनलाइन     १२ चैत २०७९, आइतबार
आन्तरिक शुद्धिकरण पहिलो प्राथमिकता : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ–नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको मुख्य प्राथमिकता रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज कार्यभार सम्हालेपछि आयोजित विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सङ्गठनको श्रीवृद्धिमा लग्ने अठोट व्यक्त गरे । 

प्रहरीसामु समस्याका चाङहरू रहेको, सङ्गठनको दुर्वल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपायहरू अवलम्बन गर्नुको टड्कारो आवश्यकता रहेको पनि उनले बताए । प्रहरी महानिरीक्षक कुँवरले नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास र प्रतिबद्धता खाँचो रहेको औँल्याए ।

व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारी उनले निर्देशन पनि दिए । 

नेपाल प्रहरी नागरिक प्रशासनको सबैभन्दा संवेदनशील संस्था भएको, सङ्गठन सदैव जनमुखी, पारदर्शी र कानुनले निर्देशित गरेको मूल्य मान्यताका आधारमा सञ्चालित हुनुको अर्को विकल्प नभएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणाअनुरूप नेपालको संविधान, प्रचलित ऐन–कानुनहरु र नेपाल सरकारको नीति निर्देशनबमोजिम परिचालित हुनु नेपाल प्रहरीको मूल दायित्व रहेको बताए । 

‘क्षमता गुमेपछि आत्मविश्वास गुम्छ, आत्मविश्वास गुमाएपछि त्यो सङ्गठनमा आबद्ध व्यक्तिहरूको स्वाभिमान गुम्छ भन्ने कुरा सबैले मनन गर्नुपर्ने हुन्छ’, महानिरीक्षक सिंहले भने, ‘म यो सङ्गठनको स्वाभिमान र साख गुम्न नदिन यहाँहरू सबैसँग आ–आफ्नो क्षेत्रबाट रचनात्मक क्रियाशीलताको अपेक्षा गर्दछु ।’ 

गैर व्यावसायिक आचरण र व्यवहार कुनै हालतमा सह्य नहुने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘अपराधीहरूलाई कानुनको दायरामा ल्याउने लगायतका जिम्मेवारी बहनको सिलसिलामा प्रहरी कर्मचारीबाट अकर्मण्यता, लापरबाही र उदासीनता भएमा त्यो कुनै पनि हालतमा क्षम्य हुनेछैन ।’ 

उनले सहकर्मी अधिकृतहरूलाई कुनै पनि पूर्वाग्रह र स्वार्थ बिना एकै साथ मिलेर, एक ढिक्का भएर सङ्गठनको गरिमालाई थप उचाइमा पुर्‍याउन एकमतको साङ्गठनिक दूरदृष्टि बनाएर हरेक कदमसँगै हिँड्नसमेत अनुरोध गरे ।

प्रतिक्रिया