आजबाट एचपीभी खोप अभियान सुरु, १७ लाख किशोरीलाई खोप लगाइने

राम्रो अनलाइन     २२ माघ २०८१, मङ्गलबार
आजबाट एचपीभी खोप अभियान सुरु, १७ लाख किशोरीलाई खोप लगाइने

 

काठमाडाैं – पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)खोप अभियान देशभर संचालन हुँदैछ। यही माघ २२ देखि फाल्गुन ६ गतेसम्म देशैभरि संचालन हुने अभियानको शुभारम्भ आज शिवपुरी उच्च मावि महाराजगंज काठमाडौंबाट हुने भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अभिभावकत्व तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सभापतित्वमा खोप अभियानको शुभारम्भ कार्यक्रम हुन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको हो। अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ।

विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो। उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिन लागिएकाले अभियानमा सहभागी हुन मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया