आज भारतबाट आउँदैछ १० लाख डोज कोरोना खोप

राम्रो अनलाइन     ०९ फागुन २०७७, आइतबार
आज भारतबाट आउँदैछ १० लाख डोज कोरोना खोप

नेपालले खरिद गरेको कोरोना खोपमध्ये १० लाख डोज  आइतबार काठमाडौं आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको २० लाखमध्ये १० लाख डोज कोभिसिल्ड खोप आइतबार काठमाडौं आइपुग्नेछ । भण्डारण लगायतमा समस्या नहोस् भनेर पहिलो खेपमा १० लाख ल्याउन लागिएको डा. गौतमले बताए ।

मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनमा संशोधन गरेपछि खोप खरिदको बाटो खुलेको थियो । मन्त्रालयका अनुसार सेरम इन्स्टिच्युटले सुरुमा सबै भुक्तानी मागेको थियो । तर खरिद ऐनले त्यसो गर्न नहुने भएपछि एक पटक लागि संशोधन भएको हो ।

शनिबार बिराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खोप आउने बताएका थिए । चीनबाट पनि खोप ल्याउने उनले बताएका छन् ।

चीनले नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिएको छ र यो नेपालमा आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिइसकेको छ ।

यसअघि भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो र, १४ माघबाट खोप अभियान सुरु भएको थियो । यो खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई दिइएको थियो भने २३ फागुनबाट ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई दिइनेछ ।

प्रतिक्रिया