काठमाडौं, ३ माघ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज संसद विघटन विरुद्ध ७५३ वटै पालिकामा एकसाथ विरोध प्रर्दशन गर्दै छ ।
पुस १९ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध लगातार तीन दिनसम्म विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको कांग्रेसले माघ ३ गते शनिबार ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो ।
प्रधानमन्त्रीले असंवैधानिक ढंगले विघटन गरेको संसद पुनःस्थापन हुनु पर्ने माग सहित आन्दोलनमा होमिनु पर्ने कांग्रेस ढुलमुलमा रहेको भन्दै अन्य राजनीतिक दल तथा नागरिक समाजबाट आलोचना भइरहेका बेला कांग्रेसले आज एक साथ देशभर प्रदर्शन गर्दै छ ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति नरम देखिएका कांग्रेस सभापति शेरबहादुर देउवा एकाएक प्रधानमन्त्री ओलीप्रति आक्रमक हुन थालेपछि आन्दोलन चर्किने संकेत देखिएको छ । निर्वाचनको पक्षमा अभिव्यक्ति दिँदै आएका सभापति देउवाले प्रतिनिधिसभा विघटनको रिट अदालतमा विचारधीन रहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले अदालतलाई प्रभावित गर्ने गरी निर्देशन दिन थालेको भन्दै देउवाले आक्रोश व्यक्त गरेका छन् ।
यस्तै माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ । पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेसले पुस १३ गतेयता चरणबद्ध आन्दोलन गर्दै आएको छ ।