दलित समुदायले उत्पादन गरेको दूध सङ्कलन नगरे कारबाही

राम्रो अनलाइन     ०५ पुस २०८०, बिहिबार
दलित समुदायले उत्पादन गरेको दूध सङ्कलन नगरे कारबाही

बागलुङ–  बागलुङको काठेखोला गाउँपालिकामा सागसब्जी तथा दूध उत्पादन गर्दै आएका किसानको सङ्ख्या धेरै छ । विशेषगरी वडा नं २, ५ र ६ का किसानले बाह्रै महिना दूध उत्पादन गर्छन् । ब्राहमण समुदायले घरबाटै  दूध बिक्री गर्छन् तर दलित समुदायले सहकारीमार्फत पनि दूध बिक्री गर्न पाएका छैनन् । गाउँमा दूध सङ्कलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दूध नउठाइदिने गुनासो बढिरहेको छ । 

सरोकारवाला निकायले नै चासो नदिँदा दूध बिक्री गर्न नसकिएको दलित अधिकारकर्मी बताउँछन् । काठेखोला गाउँपालिकाले दलित समुदायले उत्पादन गरेको दूध बिक्रीमा आनाकानी गर्ने सङ्घसंस्था तथा व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले दलित समुदायका किसानले उत्पादन गरेको दूध बिक्री नभएको गुनासो आएपछि गाउँपालिकाले कानुनअनुसार कारबाही गर्ने बताए । 

काठेखोला गाउँपालिकामा दूध बिक्री गरेरै धेरै किसानले परिवार चलाउँदै आएको भन्दै प्रवक्ता विकले गाउँपालिकाले पनि उनीहरुको सहजगताका लागि गाउँपालिका–२ अक्षतेमा दूध सङ्कलन केन्द्र स्थापना गर्ने बताए। काठेखोलाको दूध बागलुङ बजारसँगै पोखरामा पनि बिक्री हुने गरेको छ । 

‘सङ्घसंस्था हुन् वा व्यक्ति कसैले पनि जातीय विभेद गरेर असामाजिक गतिविधि गर्न पाइँदैन, पछिल्लो समय छुवाछूत र विभेदका कारण दलित समुदायले उत्पादन गरेको दूध बिक्री नभएको गुनासो बढेको छ’, प्रवक्ता विकले भने ।  ‘गाउँपालिकाले यसलाई गम्भीररूपमा लिएको छ ।  अब जातीय विभेद भयो भने कानुनी दायरामा ल्याउन पालिका नै अग्रसर हुने कार्यपालिकाले निर्णय गरेको छ । हरेक नागरिकको पेसा व्यवसाय गरेर बाँच्न पाउन अधिकार हुन्छ । किसानको सहजगताका लागि गाउँपालिकाले पनि अक्षते बजारमा दूध सङ्कलन केन्द्र स्थापना गर्नेछ ।’

काठेखोला गाउँपालिका–१ पालकाकी अस्मिता विकले दूध उत्पादन भए पनि बिक्री गर्न निकै समस्या भएको  बताइन् । हिउँदमा कम भए पनि बर्षा याममा बढी दूध उत्पादन हुने तथा त्यो खेरजाने दुखेसो गरिन् । छरछिमेकीको घरको दूध बिक्री भए पनि दलित परिवारको नहुने उनले गुनासो पोखिन् । आफूहरु अन्यायमा पर्दा पनि सरोकारवाला निकाय मौन रहेको विक बताउँछिन् । 

सरकारले  २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको हो । त्यसयता पनि हाम्रो समाजमा  छुवाछूत र जातीय विभेद कायमै छ । काठेखोला गाउँपालिका–२ भीमापोखराका चिन्तामणि विकले लामो समयदेखि दूध बिक्री नभएकामा सङ्घर्ष गर्दै आएको बताए । 

गाउँमा दूध सङ्कलन र बजारसम्म पुर्‍याउनका लागि सहकारी स्थापना भए पनि आफूहरुलाई शेयर सदस्यसमेत बन्न नदिएको बताए ।

प्रतिक्रिया