देउडा फैलाइरहेका राजेन्द्र

राम्रो अनलाइन     १६ फागुन २०७७, आइतबार
देउडा फैलाइरहेका राजेन्द्र

फागुन असिनो बड्डो, चैत काफल झड्डो 
आइगयो बड्डी खोज, यो अछामी बड्डो 

अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुण्डिरहेको गीत हो, यो। देउडाको परम्परागत लय, संगीत, देउडा गीतमा बढी भेटिने ख्यालठट्टा र भिडियोमा परम्परागत ‘खेल’ (नाच) देखाइएको यो गीत देउडाप्रेमीले मन पराएका छन्। गीत हिट मात्रै भएन, २०६२/ ०६३ पछि हराएको परम्परागत देउडा गीतको माहोलसमेत फर्काइदिएको धेरैले महसुस गरेका छन्। पुरानै तरिकाका शब्द, लय र खेललाई समेटेर देउडा गीत बजारमा ल्याउने होडबाजी पछिल्ला वर्षमा एकाएक बढेको छ। 

गीत चर्चित भएपछि परम्परागत देउडा गीत संकलन र लेखनमा सक्रिय राजेन्द्र शाह बीपीलाई अचेल हप्तामा एउटा गीत लेख्नुपर्ने दबाब छ। उनको शब्द संकलनमा रहेको ‘अछामी बड्डो’ देउडाप्रेमीको दिल–दिमागमा बसेपछि नयाँ–पुराना पुस्ताका गायकमा देउडा बजारमा ल्याउने लहर चलेको छ। 

केही समय लेखनबाटै विश्राम लिइसकेका यी सर्जक अहिले पुनः सक्रिय मात्रै भएका छैनन्, बेफुर्सदिला पनि बनेका छन्। गीत लेख्ने, संगीत गर्ने मात्रै नभई देउडा गीतका म्युजिक भिडियोको आधारभूत अवधारणासमेत बनाउँछन्। मान्छेलाई परम्परागत रीतिरिवाजलाई भिडियोमा संगृहीत गर्न उक्साउँछन्। 

सुदूरपश्चिमको बाजुरामा जन्मे÷हुर्केका यी सर्जकको सिर्जनामा दर्जनौँ गीत सार्वजनिक भइसकेका छन्। प्रायः गीत हिट छन्। पछिल्लो समय आएका ‘तँ छुटेर रानी’, ‘घर त मेरो प्रदेश नं ७’, ‘रानीले नुवाइगै’, ‘गैजा डोटी गैजा’ लगायत र पुराना गीत ‘डाँफ्या हिमालैमा’, ‘बास्नापुरी धान’, ‘कालीरात’ चर्चित छन्। उनले लगभग सात सय गीत लेखेका छन्। तीमध्ये पाँच सयभन्दा बढी गीत उनले संकलन गरेर राखेका छन्। 

गीतकार शाह यसलाई परम्परागत देउडा गीतको माहोल फर्केको रूपमा अथ्र्याउँछन्। ‘संगीतको मौलिक स्वादका पारखी देउडामा फर्किएका छन्,’ उनको बुझाइ छ। देउडा गीत सुनिने क्षेत्रमा समेत यसको प्रभाव घटेको समयमा समेत ‘देउडा जीवित’ राख्न उनको निरन्तर सक्रियता रह्यो। करिअरको सुरुवातदेखि नै एकअर्कासँग जोडिइरहेका साथीहरू (विनोद बाजुराली, लालबहादुर धामी, भीम थापा)लाई जोडेका देउडाको मौलिकतामाथि भइरहेको प्रहारविरुद्ध ढालका रूपमा ‘टिमअप’ गरेका छन्। 

शाह खेलाडी बन्न चाहन्थे। त्यसपछि कविता लेखनमा रुचि बढ्यो। कक्षा ११ पढ्दै गर्दा उनका डायरीभरि कविता थिए। कविता लयबद्ध गर्न सकिने खालका देखेपछि उनका साथी गायक हर्क खडायत लगायतले गीतका रूपमा रेकर्ड गर्न सुझाए। त्यही डायरी बोकेर काठमाडौँ आए। कविताको डायरीबाट रेकर्ड गरिएका गीतको संग्रह ‘टलपलाएका आँशु’ २०५६ सालमा बजारमा आयो। त्यो देउडा होइन, लोकभाकामा आधारित क्यासेट थियो। 

त्यो गीत चर्चिच लोकगायक नारायण रायमाझीको रिमा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको थियो। सुदूरपश्चिमबाट आएर लोकभाका रेकर्ड गरेको देखेपछि गायक रायमाझीले देउडा गीतमा कलम चलाउन सुझाए। ‘देउडामा छुट्टै मिठास हुन्छ,’ त्यतिखेर रायमाझीले भनेको शाह भन्छन्, ‘यस्तो मीठो गीत लेख्नेले देउडा पनि लेख्नुहोस्।’ त्यसपछि उनले देउडा गीत नै समेटिएको गीतिसंग्रह ‘सिरु’ बजारमा ल्याए। द्वन्द्वका दुःख समेटिएको ‘कालीरात’ एल्बमले उनलाई चर्चाको शिखरमा पु¥यायो। ‘डाँफ्या हिमालैमा’, ‘बास्नापुरी धान’ जस्ता मेलोडियस देउडा गीतले उनको प्रतिभा फैलिँदै गयो।

क्यासेट निकाल्दा त्यसैको बिक्रीवितरणबाट उनी त्यसका लागि भएको खर्च उठाउँथे। प्रविधिको विकास देउडाका लागि भने बाधक भइदियो। टेपरेकर्डको ठाउँ मोबाइलले लिँदा एल्बम बिक्न छाडे। क्यासेट किनेरभन्दा मेमोरी कार्डमा गीत सारेर सुन्न थालिएपछि देउडा गीतलाई करिअर बनाइरहेका लाखापाखा लाग्न बाध्य भए। सात सयभन्दा बढी गीत लेखिसकेका शाह भन्छन्, ‘एक समय त देउडा गीत गाउन चाहनेहरू नभएपछि मैले पनि पाँच वर्ष यो क्षेत्रबाट विश्राम लिनुप¥यो।’

देउडा गायनमा चर्चित भइसकेका उनले लत्तो छाडे। सामाजिक काम र राजनीतिमा उनको सक्रियता बढ्यो। केही समय सक्रिय राजनीतिसमेत गरे। तर, उनलाई संगीतको आनन्द राजनीतिले दिएन। त्यसलाई छाडेर गीत–संगीतमै फर्किए। अहिले देउडा गीत र त्यस क्षेत्रका कलाकार एक ठाउँ उभ्याउन लागिपरेका छन्। हालसालै गठन भएको देउडा कलाकार मञ्चका उनी अध्यक्ष हुन्। 

प्रतिक्रिया