कतिपय फेसनप्रेमी जाडो मौसम त्यति रुचाउँदैनन्। जाडोमा बाक्ला कपडा र शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्ने भएकाले आफ्नो फिगर देखाउन पाइएन भनेर चिन्ता गर्ने युवती पनि हुन्छन्। तर, मौसमजस्तै फेसन पनि बदलिरहन्छ भन्ने हेक्का राख्न सकियो भने हामीले हरेक सिजनमा आफूलाई स्टाइलिस र फेसनेबल देखाउन सक्छौँ। आफूलाई स्टाइलिस देखाउन मौसमअनुसार फेसन अंगाल्नुपर्ने हुन्छ।
चिसो मौसममा सल, स्वेटरजस्ता पहिरन प्रायः सबैले लगाउँछन्। तर, अन्य किसिमका न्याना र चलनचल्तीका पहिरन लगाएर आफूलाई ट्रेन्डी देखाउन सकिन्छ। जस्तैः वुलन टप्स, ज्याकेट, क्याप, स्टाइलिस मोजा आदि। अहिले किसिम–किसिमका जाडोका लुगाले बजार भरिएको छ।
फेसन इन्डस्ट्रीमा हरेक मौसमअनुसार एउटा फेसन स्टेटमेन्ट बन्छ। जाडोमा पनि बजारमा यस्ता धेरै विन्टर वेयर्स देखिन्छन् जसले महिलालाई स्टाइलिस र ट्रेन्डी देखाउन मद्दत गर्छ।
हुड ज्याकेट र टप्स
हुड ज्याकेट र टप्सलाई युवाहरूले धेरै रुचाएका छन्। पछाडिपट्टिको क्याप स्टाइलले ज्याकेटलाई अझै आकर्षक देखाउँछ। र, फंकी लुक दिन्छ। साथै, जाडोमा अर्को टोपी लगाउने झन्झटबाट पनि मुक्ति मिल्छ। हुड ज्याकेट केटाकेटी दुवैले प्रयोग गर्न सक्ने डिजाइनमा तयार गरिएको हुन्छ।
सर्ट ज्याकेट
जाडोमा सर्ट ज्याकेट प्रयोग गर्ने हिजोआज प्रशस्तै भेटिन्छन्। युवाहरूका लागि त सर्ट ज्याकेट स्ट्याटस नै बनिसकेको छ। जुनसुकै ड्रेससँग लगाउन सकिने भएकाले सर्ट ज्याकेटलाई धेरैले रुचाएका छन्। जिन्स हो वा कुर्ता जस्तोसुकै पहिरनसँग सर्ट ज्याकेट लगाउन सकिन्छ र स्टाइलिस लुक पाउन सकिन्छ।
मिक्स–म्याच स्टाइल
भीडमा आफू अलग देखिन जाडोमा मिक्स एन्ड म्याच फेसनलाई अपनाउन सकिन्छ। जुन रङ आफूलाई सुहाउँछ त्यससँग मिलाएर मिक्स एन्ड म्याच फेसन गर्न सकिन्छ। आफूसँग भएका जाडोका लुगासँग जुनै पनि रङ मिलाएर लगाउन सकिन्छ।
स्कर्ट विद लेगिङ्स स्टाइल
स्कर्ट धेरै युवतीलाई मन पर्छ। चिसो मौसममा नयाँ लुक दिन स्कर्टलाई लेगिङ्ससँग लगाउन गर्न सकिन्छ। अहिले धेरैले यो फेसन अपनाएका छन्। स्कर्टका अनेक डिजाइन बजारमा उपलब्ध छन्। फिसकट स्कर्ट, सर्ट स्कर्ट, रेप राउन्ड आदि। आफूले चाहेजस्तो रङ र डिजाइनको लेगिङ्स प्रयोग गरी ट्रेन्डी लुक पाउन सकिन्छ।
बुट
जाडोमा बुट धेरैले छुटाउँदैनन्। लङ बुट, लेदर बुट, हाइहिल बुट, फ्ल्याटहिल, वेज हिल, पेन्सिल हिल, नी बुट, सर्ट बुट, एन्कल लेन्थ बुट, क्वाटर बुटलगायत बुट बजारमा पाइन्छन्। रातो, कालो, नीलो, बैजनी, खैरो, सुन्तलालगायत थुप्रै रङमा यी बुट पाइन्छन्। पहिरन अनुसारको रङसँग मिलाएर बुटको प्रयोग गर्न सकिन्छ। धेरै रङका बुट चले पनि कालो र खैरो सदाबहार रङ हुन्। वेज हिल भएका बुट अहिले बढी लोकप्रिय रहेको छ।
मोजा
मोजा नलगाउँदासम्म जाडो मौसम आएको महसुस नै हुँदैन। बजारमा स्टाइलिस मोजा पाइन्छन्। झन् आजभोलि पाइने मोजालाई लेगिङ्स वा जिन्स माथिबाट पनि लगाउन सकिन्छ। यसलाई ‘नी वार्मर सक्स’ भनिन्छ।