एकचालिसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरू

राम्रो अनलाइन     ०६ मंसिर २०८०, बुधबार
एकचालिसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरू


काठमाडौँ–नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा एकचालिसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० बुधबारदेखि सुरू भएको छ । प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।

प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले नेपाल प्रहरीमा हुने आन्तरिक खेलकुद प्रतियोगिता स्तरीय खेलाडी उत्पादनको आधारका रूपमा रहेकाले प्रतियोगिताको सम्भाव्यता खोजी गरी सञ्चालनको लागि प्रयास गरिने प्रतिवद्धता व्यक्त गरे । साथै प्रतियोगितामा सहभागी टिमलाई खेल अवधिभर उच्च अनुशासनमा रही आफ्नो खेल कौशल प्रदर्शन गर्न समेत उनले आग्रह गरे। 

कार्यक्रममा प्रहरी नायव उपरीक्षक रूकेश तण्डुकारले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । आजै भएको पहिलो खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टिमले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरलाई पाँचका विरूद्ध शून्य गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । 

मङ्सिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकासाथै सातवटै प्रदेश प्रहरी कार्यालयका टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया