कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ ।
यमपञ्चकको पहिलो दिन बिहान घरलाई लिपपोत गरी शुद्ध बनाई आँगनमा वैदिक विधि–विधानअनुसार यमदूतका रूपमा कागलाई पूजा गरिन्छ, कागलाई यमराजको दूत र सत्यवादी, भविष्यद्रष्टा, सन्देशवाहक पन्छीका रूपमा लिने परम्परा छ ।
समुन्द्र मन्थन गर्दा चौध रत्न समुन्द्रबाट निस्किए । त्यसमा आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको प्रादुर्भाव भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्य तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता रहेको छ ।
यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी अर्थात् कुकुर तिहार भनिन्छ । यस दिन बिहानै शरीरमा तेल लगाएर अपमार्गको लेप बनाई स्नान गर्नुपर्दछ । विविध औषधिको प्रयोग गरी स्नान गर्नुपर्छ । पितृहरूलाई सम्झेर नदी, तलाउ आदिमा दीप प्रवाह गर्ने विधान पनि छ । आफ्नो कुलोचित तर्पणादि समाप्त गरी कुकुरपूजा गर्नुपर्छ । पशुहरूमा तुच्छ रूपमा रहेको कुकुरलाई पनि यमराजको दूत र भैरवजीको वाहनका रूपमा लिने गरिन्छ ।
यमपञ्चकको तेस्रो दिन कात्तिक कृष्ण अमावस्यामा लक्ष्मीपूजा मनाइन्छ । धनकी देवी लक्ष्मी, गणेश, कुबेर आदिको पूजा गरिन्छ । मूल प्रकृतिमा लक्ष्मीका दुई स्वरूप हुन्छन्, दुर्भाग्यलक्ष्मी र सौभाग्यलक्ष्मी । अर्धमीमा घरमा दुर्भाग्यलक्ष्मीले बास गरेर कष्ट प्रदान गर्छिन् भने साधक सन्तको घरमा धनधान्य सुख शान्ति प्रदान गर्छिन् । औँसीका दिन बिहान घरलाई लिपपोत गरी सफासुग्घर भएर नित्यकर्म गरी दुर्भाग्यलक्ष्मीको प्रार्थना गरिन्छ । दुर्भाग्यलक्ष्मीको पूजापछि गौलक्ष्मीको समन्त्रक पूजा गर्नुपर्छ । कर्म गरे पनि दुर्भाग्यले नछोड्ने भएकाले पहिले दुर्भाग्यलाई हटाइ सौभाग्य वृद्धिका लागि सौभाग्यलक्ष्मीको पूजा गर्नुपर्छ ।
त्यसपछि धनधान्यकी देवीलक्ष्मी र ऋद्धिसिद्धिले युक्त भएका भगवान् गणेश, कुबेर, कार्तिकेय र श्रीविद्याका उपासकले श्रीचक्रको पूजा गर्नुपर्छ । गाईलाई लक्ष्मीको रूपमा मानी तेत्तीस कोटी देवता गाईको शरीरमा रहने भएकाले गाईको पूजाले सम्पूर्ण तेत्तीस कोटी देवताको पूजा भएको मानिन्छ ।
यही दिन सन्ध्याकालमा कुबेर, इन्द्र, धनसम्पत्ति आदिको पूजा गरी दीपावली गर्ने गरिन्छ । सन्ध्याकालमा कोठा, चोटा, प्रांगण, जलाशय, गौशाला आदिमा बत्ती बाल्ने गरिन्छ । साँझमा महाकालीको पूजा पनि गरिन्छ ।
यमपञ्चकको चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाको दिनलाई गोवद्र्धनपूजा अर्थात् गोरु तिहार भनिन्छ । यस दिन गोरुको पूजा गर्नुभन्दा पहिले बिहान नित्यकर्म गरी घरमा गाईको गोबरले गोवद्र्धन पर्वतको निर्माण गरी शास्त्रीय विधिअनुसार पूजा गर्नुपर्छ । यसै दिन सत्यवादी बलिको पूजा पनि गर्ने विधान छ । अमावस्याको दिन साँझदेखि भोलिपल्ट बिहानसम्म चेलीबेटीहरू आपसमा भेला भई घर–घरमा भैलो खेल्छन् । गोवद्र्धनपूजाको दिन र यमद्वितीयाको दिन दाजुभाइ मिलेर देउसी खेल्ने प्रचलन छ ।
यमपञ्चकको पाँचौँ दिनलाई भाइटीका अर्थात् भ्रातृ द्वितीया भनिन्छ । यस दिन घरमा नित्यकर्म गरी शास्त्रीय विधिअनुसार यम, यमुना र अष्ट चिरञ्जीवीको पूजा गरिन्छ । बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिएर निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजा अर्चना गरेको चर्चा पौराणिक वाङ्मयमा पाइन्छ ।
दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाइदिन्छन् । माइतीको जीवनमा आउने अप्ठ्यारो र अशुभताको नाश गर्न कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामा राखेर फुटाइन्छ । त्यसपछि तेलको धाराले परिक्रमा गराई सप्तरंगी टीका लगाइदिने र कहिले नओइलाउने मखमली, दूबो, सयपत्री आदिको माला लगाई मिष्ठान्न मसला आदि विभिन्न परिकार खुवाउने प्रचलन छ । यस दिन गणेश, लोमश, यमुना, परिचारिका, नवग्रह, ब्रह्मा, विष्णु रुद्रादिको पूजा पनि गरिन्छ । (लेखक वास्तुतन्त्रविद् हुन्)