इजरायली सेनाले अक्टोबर सातदेखि चार हप्ताको अवधिमा गाजापट्टीमा १८ हजार टन बम खसालेको गाजापट्टीमा शासन गरिरहेको सरकारको मिडिया प्रमुख सालामा मरुफले प्रेस ब्रिफिङमा बताए । यो परिणामको बमले दोस्रो विश्वयुद्धमा हिरोसिमा सहरमा खसालिएको आणविक बमको भन्दा डेढगुणा बढी विस्फोटक शक्ति निकाल्ने विज्ञहरूले बताएका छन् ।
‘इजरायली बमबारी कारण ८५ सरकारी भवन, ४७ मस्जिद ध्वस्त भएको छ भने तीन चर्चमा ठूलो क्षति पुगेको छ । त्यस्तै दुई लाख घरमा क्षति पुगेको र त्यसबाट ती घरका करिब ३२ हजार पाँच सय बेघर भएका छन् । त्यस्तै २०३ विद्यालयमा ठूला असर पुगेको र ४५ विद्यालय भने प्रयोग गर्न नसकिने गरी क्षतिग्रस्त भएको छ । मारिनेमा १२४ स्वास्थ्यकर्मी पनि छन्,’ प्रवक्ता मरुफले जानकारी दिए ।
अलजजिराका अनुसार गाजामा खसालिएकामध्ये अधिकांश बम अमेरिकामा निर्मित एमके८० शृंखला रहेको छ । यो बम भियतनाम युद्धदेखि प्रयोगमा छ । सुरुमा स्वतन्त्र रूपमा विमानबाट खसालिने गरी बनाइएको यो बम निरन्तर सुधार गरिएर अहिले सटिक रूपमा लक्ष्यमा मार हान्न सकिने बनाइएको छ । जहाँसम्मको लडाकु विमानको कुरा छ, इजरायलले अमेरिकामा बनेका एफ–१५, एफ–३५ र एफ–१६ प्रयोग गरिरहेको कुरोभाकले लेखेका छन् ।
एफ–१५ हवाई प्रभुत्व बनाउन प्रयोग गरिन्छ । तथापि आवश्यक पर्दा यसलाई बमबारीमा पनि प्रयोगमा ल्याउन सकिन्छ । एफ–३५ बमबारीभन्दा पनि सम्भावित जोखिमलाई निस्तेज पार्न प्रयोग हुने सैन्य विश्लेषकको भनाइ छ । यो साता एक एफ–३५ विमानले यमनबाट हुथीले हानेको क्रुज मिसाइल खसालेको भिडियो सार्वजनिक भएको थियो । गाजामा जारी भीषण बमबारीमा मुख्यतः एफ–१६ प्रयोग भइरहेको छ । कुरोभाकका अनुसार अहिले इजरायलले करिब सयवटा यस्ता विमान प्रयोगमा ल्याएको छ ।