सन् १९८० को दशकमा बम्बईमा सेतो सर्ट, सेतो प्यान्ट र सेतै जुत्ता लगाउने फेसन चलेको थियो । एक पटक नेपाल आउँदा म सेतो सर्ट, प्यान्ट र जुत्ता लगाएर आएँ । यहाँकाले त मलाई बरखी बारेको भन्ठाने ।
म भारत, दार्जिलिङको कालिङपोङमा जन्मेको हुँ । सानो गाउँ भएकाले त्यहाँ त्यतिविधि फेसन देखिँदैनथ्यो । तर, शहरिया केटाकेटी भने फिल्मकै जस्तो फेसन गर्थे । त्यतिखेर मलाई ‘रफ एन्ड टफ’ फेसन मन पथ्र्यो । हलिउडका ‘काउ ब्वाई’ फिल्महरूको जस्तो ड्रेसअप गर्न मन पथ्र्याे । कलेजताका म रफ खाले फेसन गर्थें । रफ सर्ट अनि प्यान्ट लगाउँथेँ । त्यतिबेला चुच्चो जुत्ता एकदमै चलेको थियो । तर, मैले चाहिँ त्यो कहिल्यै लगाइनँ । काम गर्न थालेपछि सामान्य सर्ट–प्यान्ट लगाउन थालेँ ।
त्यतिबेला टाइट प्यान्ट फेसनमा थियो । जसलाई ‘सुर्लुङ’ प्यान्ट भनिन्थ्यो । बिँडीको जस्तो आकार हुन्थ्यो त्यस प्यान्टको । त्यसपछि बेलिबटम प्यान्टको फेसन आयो । फेसनको खास अर्थ र महत्व बम्बई (अहिलेको मुम्बई) गएपछि र फिल्म क्षेत्रमा लागेपछि बुझेँ । सन् १९७४ तिर हिरो बन्न बम्बई गएँ । तर, बम्बईजस्तो ठाउँमा मेरो सानो बजेटले के पुग्थ्यो ? त्यसपछि प्राविधिकको काम सिकेँ । बम्बईमा राम्रो देखिनुलाई फेसनका रूपमा लिइन्थ्यो । मेरो गुरु भन्नुहुन्थ्यो– ‘फेसन इज त फेस अफ टाइम’ । बम्बई बस्दा कुर्ता–जिन्स पनि खूब लगाइयो । मलाई धर्मेन्द्रको गेटअप असाध्यै राम्रो लाग्थ्यो ।
सन् १९८० ताका प्यान्ट, वेस्टकोट, टाई अनि फुलस्लिभ सर्ट फेसनमा थियो । फेसनमा जे भए पनि मलाई त रफ फेसन नै मन पथ्र्यो । मेरो जीवनको धेरै समय सुटिङ र अभिनयमै बित्यो । काममा जाँदा साधारण टिसर्ट–प्यान्ट लगाउँथेँ । पार्टीतिर जाँदा सुटमा ठाँटिन्थेँ । तर, मैले सुट एकदमै कम लगाएको छुु । अनिवार्य हुँदा मात्रै लगाउँछु । त्यो पनि पातलो खालको कोट लगाउँछु । कोट लगाउँदा जीउ नै गह्रौँ लाग्छ । तर, मलाई ओभरकोट चाहिँ साह्रै मन पर्छ । मैले नछुटाई लगाउने भनेको ह्याट हो । त्यतिखेर पनि ह्याट लगाउँथेँ, अहिले पनि लगाउँछु । रफ सर्ट, जिन्स प्यान्ट त्यसमा ह्याट– यही हो मेरो फेसन । सबैभन्दा पहिला दाइले अमेरिकाबाट काउ ब्वाईले लगाउनेजस्तो ह्याट पठाइदिनुभएको थियो । उहाँले मेरा लागि थुप्रै ह्याट पठाउनुभयो । त्यसपछि जहाँ जाँदा पनि ह्याट लगाउने बानी बस्यो । मैले अहिलेसम्म ह्याट किनेको छैन । सबै उपहारमा नै पाएको छु । मसँग १५ वटाजति ह्याट छन् । छसात वटा ‘बेरेट क्याप’ छन् ।
हाम्रो पालामा जिन्स प्यान्ट एकदमै महँगा थिए । ब्रान्डेड त झन् किन्नै सकिँदैनथ्यो । सामान्य प्यान्टको २५÷३० रुपैयाँजति पथ्र्यो भने जिन्सका लागि ५० रुपैयाँ तिर्नुपथ्र्यो । टिसर्ट चाहिँ १०/१२ रुपैयाँमा पाइन्थे । त्यतिबेला सिलाएका लुगा बढी चल्थे । म सर्टमा कलर नराखी सिलाउँथेँ । आफूलाई अलग देखाउन आफ्नै खालको फेसन गर्थें । म एउटै कपडा लामो समयसम्म लगाउँछु । एक÷दुई वर्षसम्म पनि लगाउँछु । मसँग १९÷२० वर्ष पुराना लुगा पनि छन् । अहिले पनि कहिलेकाहीँ लगाउँछु ती लुगा ।
सन् १९७८ देखि १९८६ सम्म एउटा फेसन चलेको थियो– सेतो सर्ट, सेतो प्यान्ट र सेतो जुत्ता । बम्बईमा सबै यस्तै फेसन गर्थे । एक पटक नेपाल आउँदा म पनि सेतो सर्ट, प्यान्ट र जुत्ता लगाएर आएँ । यहाँकाले त मलाई बरखी बारेको भन्ठाने । सिल्कको कुर्ता पनि धेरै लगाइयो ।
अहिले धेरैजसो जिन्स, टिसर्ट अनि ह्याट लगाउँछु । कलर भएको सर्ट कमै लगाउँछु । कार्यक्रममा जाँदा अनिवार्य छ भने मात्र सुट लगाउँछु । जे लगाए पनि तरिकाले लगाउनुपर्छ भन्ने मेरो मान्यता हो । दुईचार मानिसका अगाडि उभिँदा असहज नहोस्, भद्दा नदेखियोस् भन्ने कुरामा ध्यान दिन्छु ।