भारतद्वारा रु १६ करोडका राहत सामग्री हस्तान्तरण

राम्रो अनलाइन     १९ कात्तिक २०८०, आइतबार
भारतद्वारा रु १६ करोडका राहत सामग्री हस्तान्तरण


काठमाडौँ–भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि रु १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरुप आज रु १६ करोडबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । 

भारतीय सरकारद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई हस्तान्तरण गरिएको राहत सामग्री नेपालगञ्ज विमानस्थलमा भारतीय वायुसेनाको विमानबाट ओसार्दै राँझास्थित श्री बज्रदल गणका नेपाली सेना । 


भारतीय वायुसेनाको विशेष विमानले आज ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री मन्त्री खड्कालाई हस्तान्तरण गरिएको हो । आज हस्तान्तरित सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधी छन् । 

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती राहत सामग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा मन्त्री खड्कालाई हस्तान्तरण गरे। 

आगामी दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने दूतावासले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । छिमेकीका नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकालाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको जनाइएको छ । 
 

प्रतिक्रिया