अर्थमन्त्री डा. महत भन्छन् : निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ

राम्रो अनलाइन     १९ असोज २०८०, शुक्रबार
अर्थमन्त्री डा. महत भन्छन् : निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ


चितवन–अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघिनै गरिने बताएका छन् । उनले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँ अगाडि नै भुक्तानी हुने बताए । आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘असार मसान्तसम्ममा रु ६० देखि ७० अर्ब तिरिसकेका छौँ । अब रु छदेखि सात अर्ब जति बाँकी होला त्यो भुक्तानी हुन्छ ।’ 

अर्थमन्त्री डा महतले बाहिर आएजस्तो आर्थिक सङ्कट चरम नभएको बताए । केही हदसम्म समस्या भए पनि बाहिर देखिए जस्तो आर्थिक सङ्कट नभएको उनको भनाइ थियो । 

पहिला राष्ट्र बैंकले सहजरुपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतको भनाइ छ । ‘सहजरुपमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ कहाँ आउँदैन नहेरी लगानी भयो । त्यसको असर अहिले देखियो’, उनले थपे, ‘अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढ्यो र उत्पादन पनि भएन । जसका कारण केही व्यवसायीलाई समस्या परेको छ ।’

सरकार अहिले अर्थतन्त्रको जग बनाउन लागि परेको उनको भनाइ थियो । अर्थतन्त्रको जग बलियो नभएका कारण केही समस्या आएको उनको भनाइ छ । 
 

प्रतिक्रिया